३८ क्विन्टल सुन तस्करीमा निलम्वित एसएसपी खत्री कारागार चलान

मोरङ, १८ जेठ – ३८ क्विन्टल सुन तस्करीमा जोडिएका नेपाल प्रहरीका निलम्वित वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री कारागार चलान भएका छन् । जिल्ला अदालत मोरङमा बिहीबार आत्मसमर्पण गरेका खत्रीको वयान र थुनछेक बहसपछि जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासको आदेशमा भनिएको छ, ‘निज प्रतिवादी श्यामबहादुर खत्री कसुरदार रहेको आधार देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल निज प्रतिवादीलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अदालती बन्दोबस्ती ११८ को देहायको २ को आधारमा पुर्पक्षका लागि थुनामा राख्न नियमानुसाको सिदा खान पाउने गरी अदालती बन्दोबस्ती १२१ नम्बर बमोजिमको थुनुवा पुर्जी दिई कारागार कार्यालय मोरङमा पठाइदिनु भनी कारकार बन्दोबस्ती १२१ बमोजिम यो आदेश गरेको छु ।’

सुन तस्करी काण्डमा मुछिएका खत्री वयानका लागि हाजिर हुन भनेलगत्तै फरार भएका थिए । फरार रहेका उनीलगायतलाई रेडकर्नर नोटिसमार्फत खोजी थालिएपछि उनले बिहीबार विहान कार्यालय समय सुरु भएलगत्तै जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् ।

विहान १० बजे अदालतमा हाजिर भएका खत्रीको ३ बजेसम्म बयान लिइएको थियो । उनले १२ पृष्ठ लामो बयान दिएको जिल्ला अदालत मोरङका निमित्त श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । मुद्दामा बादी नेपाल सरकारको पक्षबाट मुख्य न्यायाधिवक्ता पुन्यप्रसाद पाठक र खत्रीको तर्फबाट अधिवक्ता हेमराज पन्तले बहस गरेका थिए ।

खत्री २२ पुस २०७३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको दुबईबाट आएको ३४ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए । प्रहरी बर्दीमै रहेका बेला पक्राउ परेका एसएसपी खत्री त्यतिबेला जिल्ला अदालत काठमाडौंमा २ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

गत ९ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर हराएको भनिएको तस्करीको साढे ३३ किलो सुन र त्यसअघि भएका सुन तस्करीमा खत्रीको संलग्नता देखिएको गृह मन्त्रालयका सह–सचिव नेतृत्वको छानविन समितिले जनाएको थियो । सो सुन तस्करी काण्डका नाइके मानिएका उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ले पनि तस्करीको सञ्जालबारे खत्री जानकार रहेको र उनको सहयोगमा ५ सय किलो सुन तस्करी गरेको बयान अदालतमा दिएका थिए ।

सुन तस्करीका क्रममा सनम शाक्यको हत्या भएपछि बयानको लागि बोलाउँदा आफू कार्यरत प्रहरी प्रधान कार्यालयबाट १० दिनको विदा स्वीकृत गराएर भारत गएका खत्री बिहीवार काठमाडौं हुँदै जिल्ला अदालत मोरङमा हाजिर भएको बुझिएको छ ।

खत्रीले बयानमा सुन नै बरामद नभएको अवस्थामा कसैलाई तस्कर भन्न नमिल्ने जिकिर गरेका छन् । उनले त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करीमा तत्कालीन प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोविन्द निरौलाको संलग्नता रहेको पनि बयानमा उल्लेख गरेका छन् ।

सुन तस्करीका नाइके भनिएका गोरे र तत्कालीन डीआईजी निरौलाबीच विशेष सम्बन्ध भएका कारण आफूले विमानस्थलमा कार्यरत रहँदा सुन तस्करी रोक्न नसकेको खत्रीको जिकिर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार