काठमाडौं, १८ जेठ – वेष्ट इण्डिज विरुद्धको च्यारिटी म्याचमा विश्व एघार पराजित भएको छ । नेपाली युवा स्टार सन्दीप लामिछानेले ब्याटिङ र बलिङ दुवै मौका पाएको खेलमा विश्व एघार ७२ रनले पराजित भयो ।
टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । वेष्ट इण्डिजका लागि इर्भिन लुइसले ५८ रन, दिनेश रामदिनले ४४ रन, मर्लुस सामुयल्सले ४३ रन, क्रिश गेलले १८ रन, एन्ड्रु रसेलले २१ रन तथा आन्द्रे फ्लेचरले ७ रन बनाएका थिए । बलिङतर्फ रसिद खानले २ विकेट लिए भने शोहिव मलिक र शाहीद अफ्रिदीले १–१ विकेट हात पारे ।
२०० रनको लक्ष्य पछ्याएको विश्व एघार १६.४ ओभरमा १ सय २७ रनमा अलआउट भयो । विश्व एघारका लागि थिसरा परेराले सर्वाधिक ६१ रनको योगदान दिए भने सोहिब मलिकले १२, शाहीद अफ्रिदीले ११, मिचेल म्याकलेनाघनले १०, रसिद खानले ९, साम बिलिङ्सले ४ तथा सन्दीप लामिछानेले अविजित ४ रनको योगदान दिए । दिनेश कार्तिमक शून्यमै आउट भएका थिए । १३औं ओभर बलिङ गर्दै सन्दीपले एक ओभरमा कुल १२ रन दिएका थिए ।
बलिङतर्फ केस्रिक विलियम्सले ३ विकेट लिए भने सामुयल बद्री र एन्द्रे रसेलले २–२ विकेट हात पारे । किमो पाउल र कार्लोस ब्राथवेटले पनि १–१ विकेट लिए ।