शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी

काठमाडौं, २१ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा भ्रष्टाचार भएको बारे सबैभन्दा बढी उजुरी परेको खुलासा भएको छ।

आयोगका प्रवक्ता रामेश्वर दंगालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकायमा सबैभन्दा बढी भ्रष्टाचार भएको उजुरी परेको खुलासा गरे। सोमबार काठमाडौंस्थित आयोगको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी उनले त्यसमध्ये अस्थायी शिक्षक नियुक्तिमा भ्रष्टाचार लगायतका अनियमितता भएको उजुरी सबैभन्दा बढी रहेको स्पष्ट पारे।

शिक्षक नियुक्ति, भवन निर्माण, छात्रवृत्ति लगायतका अनुदान सहायताको रकममा अनियमितता हुने गरेको अख्तियारको तथ्यांकमा उल्लेख गरिएको छ। त्यसैगरी सामाजिक सुरक्षा भत्ता दुरुपयोगको उजुरी पनि उल्लेख्य रहेको अख्तियारले जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत हालसम्म सबैभन्दा बढी ३ हजार ४४ वटा उजुरी परेको पनि प्रवक्ता दंगालले जानकारी दिए।

आयोगमा हालसम्म कूल १६ हजार ८ सय ८ वटा भ्रष्टाचार सम्बन्धी उजुरी परेको छ। त्यसमध्ये अघिल्लो आर्थिक वर्षमा ७ हजार ७ सय १९ वटा रहेका छन् भने चालू आर्थिक वर्षको बैसाख मसान्तसम्म ९ हजार ८९ वटा उजुरी परेका छन्। हालसम्म भ्रष्टाचार सम्बन्धी करिब ५४ प्रतिशत उजुरी फर्स्यौट गरिएको पनि उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार