काठमाडौं, २२ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारी र शीर्ष नेताहरुबीचको छलफल सकिएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनपछि राष्ट्रपतिले सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुसँग पहिलोपटक सामुहिक भेट गरेकी हुन् ।
भेटमा राष्ट्रपतिले सहमति र सहकार्यमा संविधान जारी गरेको र अब संविधानको कार्यानन्वयन पनि सहमति र सहकार्यमै गर्न दलहरुलाई आग्रह गरेको राष्ट्रपतिका प्रेस विज्ञ भेषराज अधिकारीले जानकारी दिए ।
‘तपाईंहरूले संविधान मिलेर जारी गर्नुभयो अब संविधान कार्यान्वयनपनि मिलेरै गर्नुस्’, भण्डारीको भनाइ उधृत गर्दै अधिकारीले भने, ‘देशलाई विकास र समृद्धिको बाटोमा लैजाने तपाईंहरुको साझा दायित्व हो, रोजगारी बढाएपछि मात्र समृद्धिको बाटो खुल्छ ।’
राष्ट्रपतिको आग्रहमा शीर्ष नेताहरुले विकास र समृद्धिको बाटोमा देशलाई लैजाने आफूहरुको साझा दायित्व भएकाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको अधिकारीले जानकारी दिए ।
भेटमा नेपाल कम्युनिष्ट पार्टीबाट अध्यक्षद्वय केपी ओली र प्रचण्ड साथै प्रमुख प्रतिपक्षी कांग्रेसबाट सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल सहभागी थिए । – नयाँ पत्रिका दैनिक