काठमाडौं, २३ जेठ – सरकारले ट्याक्सीमा जडित मिटरमा कैफियत भेटिएका १ सय ५० वटा ट्याक्सीलाई कारबाही गरेको छ। बितेको दुई महिनामा ती ट्याक्सीबाट जरीवानास्वरूप १ लाख ५० हजार रुपियाँ राजस्व संकलन भएको गुणस्तर तथा नाप तौल विभागले जनाएको छ।
विभागको तथ्याङ्कअनुसार अहिले उपत्यकामा भाडाका १० हजार ६ सय ३८ वटा ट्याक्सी गुड्दै आएका छन्। काठमाडौं उपत्यकामा गुड्ने सबै भाडाका ट्याक्सीमा मिटर जडान भइसकेको भए पनि ट्याक्सीचालकले मापदण्डमा रहेर सवारी नचलाएपछि कारबाही गरिएको हो।
२०७३ साल साउन ७ गतेभित्र भाडामा गुड्ने ट्याक्सीमा मिटर जडान गर्ने समय तोकिएको थियो, झन्डै १ हजार ट्याक्सीमा मिटर जोड्न अझै बाँकी छ।
यात्रुहरू यस्तो कारबाहीबाट खुसी भएका छन्। काठमाडौं जावलाखेलकी कामना वैद्यले भने, ‘जावलाखेलबाट रत्नपार्क जाँदै थिएँ। परीक्षाको हतारो थियो, चक्काजाम पो रहेछ। मिटरमा झन् बढी लेला भनेर बार्गेनिङ नै नगरी ४ सय रुपियाँ तिरेर गएँ। सरकारले यस्तालाई कारबाही गरेको हो भने त राम्रो कुरा हो।’
अनावश्यक ठग्ने प्रवृत्ति रोक्न र सामान चोरी हुनबाट जोगिने उद्देश्यका साथ प्रत्येक ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिएको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए। उनले भने, ‘अनुगमनमा मिटर जडान नगरेको पाइए १० दिनसम्म मिटर रोक्का राखिदिन्छौं। मिटरमा कैफियत देखिए मिटर नै जफत गर्छौं।’
प्रिन्टर मेसिनको मूल्य ७ हजार ५ सयदेखि १० हजार रुपियाँसम्म पर्छ। विभागका महानिर्देशक पुडासैनीले भने, ‘मिटर जडान कार्य लगभग सबै सकिएको छ। कसैले विभागको निर्देशन अटेर गरेको भए कारबाही हुन्छ। हामी मिटर नजोड्ने ट्याक्सीलाई सञ्चालनसमेत गर्न दिँदैनौं।’- नेपाल समाचारपत्र दैनिक