बोनस तथा हकप्रद सेयरमा लाभकर लगाउने निर्णय फिर्ता

काठमाडौं, २३ जेठ – बोनस तथा हकप्रद सेयरको खरिदमा लाभकर लगाउने निर्णय कार्यान्वयन गर्ने बिषयमा तत्कालको लागि सरकार पछि हटेपछि सेयर कारोवार आज मध्यान्ह एक बजेबाट खुल्ला भएको हो ।

आज बुुधबार लगानीकर्ता अर्थमन्त्रालयका उच्च अधिकारीबिच भएको बार्ता पश्चात तत्कालको लागि बोनस तथा हकप्रद सेयरको खरिद बिक्रीमा लाभकर लगाउने बिषय कार्यान्वयनमा नआउने र पुरानै व्यवस्था अनुसार सेयर खरिद बिक्री हुुने बिषयमा सहमती भएको हो ।

सेयर बजारमा देखिएको समस्या समाधानका लागि मंगलबार अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन महाखाशाका प्रमुख एवं सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको र उक्त समितीले १५ दिनभित्र शेयर बजारको समग्र समस्या समाधानका लागि कार्ययोजनासहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

सोही प्रतिवेदनका आधारमा मात्र कर के कति लगाउने भन्ने निर्णय हुुने भन्दै तत्कालको लागि पुरानै व्यवस्था अनुसार सेयर कारोवार गर्न सहमती भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को उच्च श्रोतले जानकारी दिएको छ ।

गत शुुत्रबार आन्तरिक राजश्व बिभागले बोनस सेयर र हकप्रद सेयरको खरिद बिक्रीमा लाभकर उठाउन निर्देशनको दिएको थियो । यसअघि जे जस्तो भएपनि बिभागले जेठ २० गते आईतबारबाट नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङलालाई निर्देशन दिदैं व्यवस्था कार्यान्वयनमा ल्याउन पत्राचार गरेको थियो ।

आयकर ऐन २०५८ मा उल्लेख भएको व्यवस्था अनुसार बोनस र हकप्रद सेयरको लागत मुल्य गणना गर्दा शेयरको अंकित चुक्ता मुल्यलाई लागत लिई सोही आधारमा लाभको गणना गरी आयकर ऐन २०५८ अनुसार अग्रिम कर असुुल गर्न निर्देशन दिएको थियो । उक्त निर्देशन पश्चात लगानीकर्ताहरु आन्दोलन उत्रिंदा सेयर कारोवार पुर्णरुपमा ठप्प भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार