नेपालीकाे ज्यान विदेशी औषधि परीक्षण गर्ने प्रयोगशाला

काठमाडौं, २४ जेठ – विदेशमा उत्पादित नयाँ–नयाँ भ्याक्सिन र औषधिको प्रभावकारिता जाँच्न नेपालीलाई प्रयोग गर्ने गरिएको छ ।बर्सेनि हजारभन्दा बढी संघसंस्थाले नेपालीमाथि अनुसन्धान गर्दै आएकोमा केही औषधि, इन्जेक्सन, भ्याक्सिन र मेडिकल डिभाइस परीक्षण पनि हुने गरेको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार सन् २०१७ मा मात्र परिषद्बाट ५०० भन्दा बढी संस्थाले नेपाली जनतामा अनुसन्धान गर्न अनुमति लिएका छन् । सन् २०१८ को अप्रिलसम्म चार महिनामा मात्रै परिषद्बाट एक सय ७६ संस्थाले अनुसन्धानका लागि अनुमति लिइसकेका छन् ।

यसबाहेक मेडिकल कलेजलगायत ३० संस्थाले पनि स्वास्थ्य अनुसन्धानको अनुमति दिने गर्छन् । ती संस्थाले परिषद्ले जत्तिकै संख्यामा अनुमति दिने गरेको परिषद्का अध्यक्ष डा अञ्जनीकुमार झाले बताए ।

हाल ललितपुरका २० हजार बालबालिकामाथि टाइफाइडविरुद्धको ‘टाइभ्याक भ्याक्सिन’ परीक्षण भइरहेको छ । मुख्यतः पाटन अस्पतालमा आउने नौ महिनादेखि १६ वर्षसम्म उमेरका बालबालिकालाई यो भ्याक्सिन लगाउने गरिएको छ । अमेरिका र बेलायतमा बनेको यो औषधिको प्रभाव कस्तो हुन्छ भनेर परीक्षण गर्न नेपालका बालबालिका छानिएको हो ।

‘हो, पाटन अस्पतालमा यो भ्याक्सिन परीक्षण भइरहेको छ । यसमा अन्यथा केही पनि छैन,’ परीक्षणमा संलग्न डा। बुद्ध बस्नेतले नयाँ पत्रिकालाई बताए । अफ्रिकी मुलुक मराबीमा पनि यो भ्याक्सिनको परीक्षण भइरहेको छ ।-  नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार