एक अर्बका हुन्डी कारोबारी दुई करोड धरौटीमा रिहा

काठमाडौं, २८ जेठ — एक अर्बभन्दा धेरै हुन्डीको कारोबार गर्ने सातजनालाई राजस्व अनुसन्धान विभागले २ करोड ४ लाख १० हजार रुपैयाँ धरौटी र बिगोमा छाडिदिएको छ ।

नेपाल ओभरसिज मार्केटिङका राहुलराय अग्रवाल, एलाइट बिजनेस प्रालिका राजकुमार श्रेष्ठ, सङतानी ट्रेडर्सका शिवकुमार स्याङतानी, पूर्णलक्ष्मी इन्टरप्राइजेजका अरुण सावरिया, रवीन्द्र चोखानीलाई धरौटी र विनिका सेल एन्ड साइन मार्केटिङका राजकुमार सिघान्ची र जगदीश राना सरियालाई साधारण तारेखमा छाडिएको हो ।

विभागका सूचना अधिकृत शेखर पौडेलले पाँचजना बिगो र धरौटी तथा दुईजना साधारण तारेखमा छुटेको बताए । उनले भने, ‘हुन्डी कारोबारमा संलग्न भएको अभियोगमा ७ जना पक्राउ परेका थिए ।

उनीहरूमध्ये ५ जना बिगो र धरौटीमा छुटेका छन् । बाँकी दुई भने साधारण तारेखमा छुटेका छन् ।’ पक्राउ पर्दा फेला परेको दसी–प्रमाणका आधारमा बिगो र धरौटी लिइएको पौडेलले बताए ।

विभागका अनुुसार स्याङतानी १७ लाख ६० हजार रुपैयाँ बिगो र ५२ लाख ८० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । यस्तै, अग्रवाल ८ लाख २७ हजार रुपैयाँ बिगो र २४ लाख ८१ हजार, श्रेष्ठ ९ लाख ६५ हजार पाँच सय रुपैयाँ बिगो र २८ लाख ९६ हजार ५ सय रुपैयाँ धरौटीमा छुटेका छन् ।

सावरिया र रवीन्द्र चोखानी १५ लाख ५० हजार १५ लाख ५० हजार रुपैयाँ बिगो र ४६ लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । सरिया र सिघान्ची भने साधारण तारेखमा छुटेका छन् । प्रहरीले उनीहरूको साथबाट नगद र चेकमा भरेको गरी चार करोड सात लाख ७८ हजार ९७ रुपैयाँ बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरूले दुबई, चीन, कतार, मलेसिया, भारत, बैंकक र आबुधावीमा वर्षांैदेखि हुन्डी कारोबार गर्दै आएका थिए । हुन्डीका लागि प्रयोग गरिएको सामाजिक सञ्जाल बी च्याट, ह्वाट्स एप र भाइबरको अध्ययनबाट मात्रै उनीहरूले एक अर्बभन्दा धेरैको हुन्डी गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । तर, विभागले न्यून धरौटीमा छाडिदिएको छ ।

अनुसन्धानमा खटिएका महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरूले एक अर्बभन्दा धेरै हुन्डी गरेको खुल्छ । उनले भने, ‘हुन्डी गरेको अभियोगमा सातजना पक्राउ परे । उनीहरूलाई हामीले २४ घन्टाभन्दा धेरै राख्न मिल्दैन ।

प्रारम्भिक अनुसन्धानपछि राजस्व अनुसन्धान विभागमा बुझायौँ ।’ प्रहरीका अनुसार उनीहरूले सबैभन्दा धेरै हुन्डी कारोबार चीनका व्यापारीसँग गरेको देखिन्छ । त्यसपछि भारत र दुबईमा पनि बढी हुन्डी कारोबार गरेको प्रहरीको भनाइ छ ।

राठौरले भने, ‘बढी कारोबार चीनतर्फ देखिन्छ । अन्य मुलुकमा पनि यिनीहरूले हुन्डी गरेका छन् । पछिल्लोपटक चर्चित बनेको ३८ क्विन्टल सुनमा पनि यिनीहरूले नै हुन्डीमार्फत रकम पठाउने गरेको पनि हुन सक्छ । तर, यसतर्फ अनुसन्धान हुनै पाएन । २४ घन्टाभित्र विभागलाई बुझाउनुपर्ने भएकाले उतैको अनुसन्धानबाट थप खुल्ला कि ?’ —  नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार