काठमाडौं,४ असार – गोला प्रथाबाट ५९ राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने प्रक्रिया सुरु भएको छ। संघीय संसदमा राष्ट्रियसभा सदस्यहरु वर्णानुक्रम अनुसार गोला तान्दै आफ्नो कार्यकालको टुंगो लगाएका हुन्।
गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभाको कार्यकाल ६ वर्षको हुने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई वर्षमात्र कायम भएको छ। नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री छन्। गोलाप्रथामा उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो। दुई वर्षपछि राष्ट्रियसभा सदस्य नहुने भएपछि उनी अर्थमन्त्री पनि हुने छैनन् ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल ६ वर्ष कायम भएको छ। उनी तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए। राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल चार वर्ष हुने भएको छ। यसैगरी कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल दुई वर्ष हुने भएको छ। राष्ट्रियसभामा नेकपा संसदीय दलको नेता दिनानाथ शर्माको कार्यकाल भने चार वर्ष कायम भएको छ। राष्ट्रियसभा सदस्य कोमल वलीको कार्यकाल चार वर्ष हुने भएको छ । जितेन्द्र देवको कार्यकाल ६ वर्ष कायम भएको छ।