काठमाडौं, ४ असार– विगत लामो समयदेखि उपचाररत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त थैलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो । देवकोटा केही महिना अघिमात्र बेलायतामा उपचार गरेर स्वदेश फर्किएका थिए ।
उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ८ बजेदेखि दिउँसाे १ बजेसम्म न्यूरो अस्पतालमै राखिने अस्पतालले विज्ञप्ति जारी गरेकोछ ।
गएको हप्ता मात्रै उनले गाउँको आफ्नै घरमा प्राण त्याग गर्छु भनेपछि हेलिकोप्टरबाट गोरखा लगिएको थियो । डा. देवकोटा नेपालकै जेठो वीर अस्पतालबाट सबैमाझ चिनिएका थिए ।
उनले वीर अस्पतालबाट नेपालमा स्नायु शल्य चिकित्सा विस्तार गरेको बताइन्छ । वीर अस्पतालमा न्यूरो सर्जरी विभाग स्थापना गरेका उनले आफू स्वास्थ्य मन्त्री हुँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा रुपान्तरण गरेका हुन् ।