जम्बो टोलीसहित प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान

काठमाडौं, ५ असार – प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान चीन प्रस्थान गरेका छन् । चीन भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान प्रधानमन्त्री ओलीसहितको टोली हिमालय एयरलाइन्सको विशेष विमानबाट चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री ओलीलाई बिदाई गर्नका लागि विमानस्थलमा नेकपाका नेताहरु माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सभामुख कृष्णबहादुर महरालगायत छन् ।

प्रधानमन्त्री ओलीले बुधबार अपराहृन चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा ११९ सदस्य छन् ।

टोलीमा पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला विज्ञ  डा. राजन भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी, अर्थसचिव डा. राजन खनाल, परराष्ट्रसचिव शंकरदास वैरागी, वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा लगायत छन् ।

प्रधानमन्त्रीका साथ सरकारी प्रतिनिधिमण्डलमा ४२, सञ्चारकर्मी छ जना र बेइजिङस्थित नेपाली दूतावासका आठजना सहभागी छन् । त्यसैगरी विभिन्न सञ्चार माध्यमका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार ११ र उद्योगी व्यापारीको टोलीमा ५२ जना सहभागी छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही असार १० गते स्वदेश फर्कनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार