बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा आज चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आउनुभएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।
बेइजिङ उत्रेपछि प्रधानमन्त्री ओली यहाँस्थित नेपाली दूतावासले उहाँको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी हुनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चीनका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन् । चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
त्यसअघि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको र बेइजिङमा रहँदा प्रम ओली हिल्टन होटलको देउताइ स्टेट गेष्टहाउसमा रहने जानकारी मिलेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् । उनले चीनका वरिष्ठ नेतासँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।
भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नाका साथै तिब्बतका प्रान्तीय नेतासँग भेटवार्ता गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सीले अघि सारेका ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जानकारी दिए ।
भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसदहरू, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी हुनुहुन्छ ।