सुन तस्करी अनुसन्धानमा तानिए व्यापारी विमल पोद्दार

काठमाडौं – सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका लागि व्यवसायी दीपक मल्होत्राका साझेदार विमल पोद्दारलाई सरकारी अधिकारीले नियन्त्रणमा लिएका छन् ।

सरकारले गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बनाएको अनुसन्धान टोलीले हुण्डी व्यवसायीका रुपमा कुख्यात रहेका पोद्दारलाई नियन्त्रणमा लिएको हो ।

समितीले पोद्दारसँग सोधपुछ गरिरहेको छ । काठमाडौंका केही प्रतिष्ठित व्यवसायीका अदृश्य साझेदार रहेका पोद्दार यसअघि समेत विदेशी मुद्रा र सुन तस्करी प्रकरणमा जोडिँदै आएका थिए । उनी पहिलो पटक पक्राउ परेका हुन् ।

समिति स्रोतकाअनुसार अनुसन्धानमा तानिएका पोद्दारसँग सोधपुछ भइरहेको हो । आज साँझसम्म पोद्दारबिरुद्ध थप अनुसन्धानका लागि म्याद लिने तयारी गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०६९ मा विदेश जान लागेको १ करोड २४ लाख विदेशी मुद्रा बरामद भएपछि सो काण्डमा मुछिएका पोद्दार त्यसबेला जोगिन सफल भएका थिए ।

प्रहरीका बहालवाला एसएसपी रबिराज श्रेष्ठ बर्खास्त भएको सो घटनामा पक्राउ परेका असई हिराकाजी कुमालले पोद्दारको धन्दाबारे खुलाएका थिए । तर त्यतिबेला भने उनी पक्राउ परेनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार