काठमाडौं – औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उहाँहरुबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर्ण कुराकानी भएको छ ।
चीनको बेइजिङस्थित ग्रेट हल अफ पिपलमा बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसहित प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली प्रतिनिधिमण्डल ।
राष्ट्रपति सीसँग भेट्नुअघि प्रधानमन्त्री ओलीले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको शालिकमा श्रद्धाञ्जलि अर्पण गरे । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली मंगलबार चीन प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री ओली बिहानैदेखि महत्वपूर्ण कार्यक्रम र भेटावार्तामा व्यस्त भए । उनले नेपाल चाइना विजनेश फोरमलाई सम्बोधन गरे भने दुई देशका निजी क्षेत्रबीच ऊर्जा, सिमेन्ट र पश्मिना उद्योग सञ्चालनका विषयमा भएको हस्ताक्षर समारोहमा सहभागी भए ।
नेपाल र चीनबीच के-के सम्झौता भए ?
फलफुल उद्योग स्थापनाको समझदारी : फलफुल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच समझदारीपत्रमा बुधबार बेइजिङमा हस्ताक्षर गरेका हुन् ।
कालीगण्डकी गर्ज जलविद्युत् निर्माण सम्झौता : नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणका लागि हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र चीनको युनान सिन्हवा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेष्टमेन्ट कम्पनीका प्रतिनिधि झु जीनसिबीच बुधबार बेइजिङमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर : नेपाल पस्मिना उद्योग संघ र ओबोर परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्लेटफर्मबीच २ लाखदेखि ५ लाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
मर्स्याङ्दी जलविद्युत् निर्माण सम्झौता : बुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योति र सिचुवान इन्भेस्टमेन्ट ग्रुप, सिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइईसीबीच मर्स्याङ्दी क्यास्केड जलविद्युत् परियोजना निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
त्रिशूली गल्छी परियोजना निर्माण सम्झौता : त्रिशूली गल्छी परियोजना निर्माणका लागि सिद्धकाली पावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपाने र दोङ्फाङ इलेक्ट्रिक इन्टरनेशनल कम्पनीका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।