काठमाडौं, ७ असार – प्रधानमन्त्री केपी ओलीकाे प्रस्तावलाई स्वीकार्दै चिनियाँ राष्ट्रपति सी जिङ पिङले चिनियाँ रेल काठमाडौं पुर्याउने विश्वास लिएपछि केरुङ हुँदै काठमाडौंसम्म रेलमार्ग बन्ने पक्का भएको छ ।
सीले बुधबार चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको ५५ मिनेट लामो भेटका क्रममा चीनको रेल नेपालमा पुग्ने बताएका थिए ।
पुराना सम्झौता कार्यान्वयनदेखि नेपालको विकासमा चीनको सहयोग अपरिहार्य रहेको धारणा प्रधानमन्त्री ओलीले राखेपछि सीले त्यसमा सहयोग गर्ने बताए ।
लामो प्रक्रियापछि नेपालमा कम्युनिस्ट पार्टीको बहुमतको सरकार रहेको बताउँदै प्रधानमन्त्री ओलीले वैचारिक र सैद्धान्तिक लाइन हुँदै चीनले गरेको विकासजस्तै नेपाललाई तिब्र गतिको विकासमा लैजानुपर्ने प्रस्ताव राखेकाे छ ।
सो क्रममा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को सपनाबारे पनि चिनियाँ राष्ट्राध्यक्षलाई जानकारी गराएका थिए ।
सीले नेपाल सरकारको अहिलेको लक्ष्य निक्कै राम्रो रहेको बताउँदै त्यसमा हर प्रकारले चीनको साझेदारी हुने बताएका थिए । नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले काठमाडौंसम्म जोडिने रेलमार्ग पूर्ण अनुदानमा बनाइदिन सीलाई प्रस्ताव गरेकाे बताइन्छ । – राजधानी दैनिक