एसईई परीक्षाको त्रुटी पत्ता लगाउन छानविन समिति गठन

काठमाडाैं, १२ असार – एसईई परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटीको सत्यतथ्य पत्ता लगाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार छानविन समिति गठन गरेको छ ।

मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालका अनुसार शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको हो ।

समितिमा मन्त्रालयका कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भुराज रेग्मी र उपसचिव दिनेश खनाल सदस्य रहेका छन् ।

प्रदेश नम्बर २ बाट राजधानी काठमाडौं फर्के लगत्तै शिक्षामन्त्री गिरिराजमणी पोखरेलले मन्त्रालयमा आकस्मिक बैठक डाकेका थिए । सचिव र सहसचिव सम्मिलित बैठकले छानविन समिति गठन गरेर अघि बढ्ने निर्णय गरेको हो ।

समितिले ५ दिनभित्र छानविन प्रतिवेदन पेश गर्नेछ । यसअघि राष्ट्रिय परीक्षा बोर्डको बैठकले छानविन समिति गठन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

‘प्राविधिक कमीकमजोरीले परीक्षाको नतिजा प्रकाशनमा त्रुटी भएको बैठकले ठहर गर्‍यो,’ बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘छानविन समिति बनिसकेको छ, सत्यतथ्य पत्ता लगाएर त्यही अनुसार अघि बढ्छौं ।’  – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार