एक सय ९७ मेनपावर कम्पनी कारबाहीमा

काठमाण्डौं, १३ असार — वैदेशिक रोजगार विभागले एक सय ९७ मेनपावर कम्पनीलाई कारबाही गरेको छ । विभागले वैदेशिक रोजगारीमा जाने नेपालीलाई चर्को शुल्क असुल्ने गरेको भन्दै विभागले मेनपावर कम्पनीलाई कारबाही गरेको हो । वैदेशिक रोजगार विभागले नेपाली कामदार ठगी गर्ने एक सय ९७ वटा मेनपावर कम्पनीलाई कामदार पठाउन रोक लगाएको छ ।

मेनपावर कम्पनीले स्वदेशमा एउटा काम भनी सम्झौता गर्ने तर विदेशमा अर्को काम पार्ने, सरकारले तोकेभन्दा चर्को रकम असुल्ने, लामो समयसम्म राहदानी थन्काएर राख्ने र रोजगारीमा गएका कामदारलाई समस्या पर्दा नहेर्ने कम्पनीलाई कारबाही गरिएको विभागले जनाएको छ ।

मेनपावर कम्पनीलाई विभागले पटक–पटक पत्राचार गरी सचेत गराउँदा समेत अटेर गरेपछि उक्त मेनपावर कम्पनीलाई बन्द गरिएको विभागले जनाएको छ ।

विभागले वैदेशिक रोजगारीमा गएका युवा युवतीले दिएको उजुरीका आधारमा मेनपावर कम्पनीलाई कारबाहीका लागि रोक्का गरी अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ । वैदेशिक रोजगार विभागमा मेनपावर कम्पनीविरुद्ध उजुरी दिनेको संख्यामा वृद्धि हुँदै गएको विभागले जनाएको छ ।

विभागका अनुसार पीडितका उजुरीका आधारमा मुद्दाको प्रकृति हेरी अनुसन्धान अघि बढाइने र पीडित कामदारलाई जतिसक्दो चाँडो सुनुवाइ गरी न्याय दिलाउने काम गरिनेछ । विभागले कामदारका समस्या प्राथमिकता राखेर सुनुवाइ गर्दै आएको जनाएको छ ।

विभागले यसअघि पनि कामदारलाई ठगी गर्ने विभिन्न मेनपावर कम्पनीलाई कारबाही गरिसकेको जनाएको छ । – आर्थिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार