यातायात समितिले खर्च व्यहोरेपछि अस्पतालले दियो शव, यसरी गएको थियो ज्यान

काठमाडाैं, १३ असार – १९ दिनअघि चितवनमा दुर्घटनामा परी उपचारका क्रममा सोमबार राजधानीको ग्रान्डी अस्पतालमा मृत्यु भएका धर्मराज नेपालको शव मंगलबार अस्पतालबाट निकालिएको छ । पर्सा ट्रक व्यवसायी संघका पदाधिकारीले नेपालको उपचारमा लागेको खर्च तिर्ने प्रतिबद्धता जनाएपछि अस्पतालले नेपालको शव उठाउन दिएको हो ।

यसअघि परिवारले उपचार खर्च तिर्न नसक्दा अस्पतालले शव दिएको थिएन । अस्पताललाई १७ लाख बुझाउन बाँकी थियो ।

मंगलबार नयाँ पत्रिकाले सिन्डिकेट हटेपछि दुर्घटनामा घाइते भएकाहरूको उपचारमा राज्य र यातायात व्यवसायी समितिले सहयोग नगर्दा केहीको बिचल्ली भएको र धर्मराज नेपालको शवसमेत उठ्न नसकेको प्रसंगसहितको समाचार प्रकाशन गरेको थियो ।

धर्मराजको मंगलबार नै दाहसंस्कार

पर्सा ट्रक व्यवसायी संघले नेपालको उपचारमा लागेको खर्च व्यहोर्ने प्रतिबद्धता ग्रान्डी अस्पताललाई जनाएपछि परिवार तथा आफन्तले धर्मराजको शव बाहिर निकाले । मंगलबार नै दाहसंस्कार गरे ।

‘समितिका मान्छे आउनुभयो, उहाँहरूले उपचार खर्च व्यहोर्ने कागज गरेपछि अस्पतालले शव दियो,’ मृतक धर्मराजका भाइ कृष्णप्रसादले भने, ‘मंगलबार नै महाराजगन्जस्थित प्रहरीको विधिविज्ञान प्रयोगशालामा लगेर शवको पोस्टमार्टम गरेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरियो ।’

यसरी गएको थियो ज्यान

१९ दिनअघि चितवनको भरतपुरमा धर्मराज नेपाल टिपर दुर्घटनामा घाइते भएका थिए । चालक धर्मराजको टिपरलाई अर्को टिपरले ठक्कर दिएको थियो । उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएका उनको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको थियो । ठक्कर दिने टिपर पर्सा ट्रक व्यवसायी संघमा आवद्ध भएकाले संघले नै धर्मराजको उपचार खर्च व्यहोरेको हो ।

शान्तम र रमेशका परिवार बिचल्लीमै

१८ जेठमा पाल्पाको तानसेनबाट दुर्घटनामा परी घाइते भएका शान्तम बज्राचार्य र ११ जेठमा चितवनको राप्ती नगरपालिका–४ भन्डारामा मोटरसाइकल दुर्घटनामा घाइते रमेश हुमागाईंको उपचार खर्च भने अहिलेसम्म न सरकारले व्यहोरेको छ, न त सम्बन्धित यातायात समितिले नै । दुवै घाइतेका परिवार सहयोगको अपेक्षा गरिरहेका छन् ।

सरकारले २४ वैशाखमा औपचारिक रूपमा यातायात क्षेत्रमा कायम सिन्डिकेट अन्त्य गरेको थियो । तर, त्यसपछि लिनुपर्ने आवश्यक निर्णय समयमै नगर्दा दुर्घटनामा परी घाइते भएका यात्रुहरूको बिचल्ली भएको छ । – नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार