गैँडा लैजान चिनियाँ विमान आउँदै, एक जोडी असारमा र अर्को जोडी अर्को वर्ष दिइने

काठमाडौं, असार १३ — तत्कालीन वनमन्त्री अग्नि सापकोटा चीन भ्रमणमा जाँदा २७ पुस ०७२ मा चिनियाँ समकक्षी चाङ च्याङलोङले गैँडा मागे। नेपालको एकसिंगे गैँडा चीनलाई उपहारस्वरूप दिन च्याङलोङले सापकोटासँग प्रस्ताव गरेका थिए। सापकोटाले तत्काल मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र प्रक्रिया अगाडि बढाउने वचन दिए। दुई मन्त्रीबीचको भेटमा भएको उक्त प्रयासले अब मूर्त रूप पाउँदै छ। नेपालले चीनलाई उपहारस्वरूप एकसिंगे दुई जोडी गैँडा दिँदै छ।

पटक–पटक चिनियाँ टोलीबाट गैँडाको अध्ययन

यसअघि फरक–फरक चार चिनियाँ टोलीले गैँडाको अध्ययन गरिसकेको छ । नेपालतर्फबाट गैँडा उपहार दिन सबै प्रक्रिया पूरा भइसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताए। असारभित्रै एक जोडी गैँडा उपहार दिइसक्ने विभागले जनाएको छ। एकै वर्ष दुई जोडी गैँडा उपहार दिन नमिल्ने भएपछि अर्को वर्ष एक जोडी गैँडा उपहार दिइनेछ। उपहार दिएको नेपाली गैँडा चीनको चिमे लाङ पार्क र सांघाई वाइल्ड एनिमल पार्कमा राखिनेछ।

नेपालको तर्फबाट सबै प्रक्रिया पूरा भयो

चीनलाई गैँडा उपहार दिन नेपालको तर्फबाट सबै प्रक्रिया पूरा भइसक्यो । गैँडाको उत्पत्तिको प्रमाणपत्र, स्वास्थ्यसम्बन्धी प्रमाणपत्र, क्वारेनटाइन प्रमाणपत्र, साइटिस निर्यातसम्बन्धी प्रमाणपत्र तयार भइसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताए।

जंगलमा भएका गैँडालाई एक महिनादेखि बोमा राखेर निगरानी गरिएको छ। ‘हामीले बोमा रोखेको पनि एक महिनाजति भयो,’ चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत देवप्रसाद ढकालले भने, ‘खाल्डोजस्तो बोमा काँस, दुबो, स्याउ, काउली, केराजस्ता खाना दिएर राखेका छौँ। सबै प्रक्रिया सकिएकाले हाम्रोतर्फबाट गैँडा उपहार दिन तयार भइसकेको छ।’ गैँडा चीन लान विशेष प्रकारको खोर पनि बनाइसकिएको उनले बताए।

मनसुन सुरु भएपछि २४ सै घन्टा निगरानी

मनसुन सुरु भएपछि बोमा राखिएको गैँडाको २४ सै घन्टा निगरानी गर्न थालिएको छ । सौराहनजिकै राप्ती नदीको बाढीले बोमा राखिएको गैँडालाई असर गर्न सक्ने भएकाले थप निगरानी गरिएको हो। गैँडाको निगरानीमा चारजना कर्मचारी खटाइएको खड्काले बताए। ती कर्मचारीले गैँडाको खाना, औषधोपचारसहित राति पहरासमेत दिँदै आएका छन्। बाढी आइहाले उद्धार गर्न ट्र्याक्टर तयारी अवस्थामा राखिएको छ।

चिनियाँ भेटेरिनरी डाक्टरले जाँच्ने

नेपालले उपहारमा दिने गैँडा जाँच्न चीनबाट एउटा टोली नेपाल आउँदै छ। चीनको दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस)का महानिर्देशकसहित ६ प्रतिनिधि बुधबार आउँदै छन् भने २ जनाको भेटेरिनरी टोली बिहीबार आउनेछ। उनीहरू चितवन राष्ट्रिय निकुञ्ज पुगेर उपहारका लागि तयार गरिएका जोडी गैँडाको अनुसन्धान तथा जाँच गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताए।

टोलीले टुंग्याएपछि गैँडा लिन विमान आउने

साइटिस र भेटेरिनरी टोलीले जाँच गरी गैँडा लैजाने निश्चित भएपछि चिनियाँ कार्गो विमानसहित अर्को टोली आउनेछ। ‘बुधबार र बिहीबार आउने टोलीले गहन अध्ययन गरेपछि कार्गो विमानसहित चिनियाँ टोली आउँछ,’ खड्काले भने, ‘जति छिटो उनीहरूले आफ्नो काम अघि बढाउँछन्, त्यति नै छिटो गैँडा चीन पुग्छ।’ –नयाँपत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार