काठमाडौं, १६ असार – सामान्य ज्वरो अनुभव भएपछि दुई दिनअघि मात्र जँचाउन अस्पताल गएका पत्रकार यादव थपलिया एकाएक सघन उपचार कक्ष (आईसियू) मा पुग्ने अवस्था सिर्जना भयो ।
भाइरल इन्फ्लुएन्जाको संक्रमण पत्तो लागेपछि भेन्टिलेटरमा राखेर सघन उपचारमा जुटेका चिकित्सकले थपलियालाई बचाउन सकेनन् । र, शुक्रबार अपरान्ह पौन तीन बजे उनको निधन भएको खबर बाहिर आयो चिकित्सकहरू भन्छन्– पत्रकार थपलिया मात्र होइन, उनीजस्तै धेरै बिरामीलाई भाइरल इन्फ्लुएन्जाले आकस्मिक रूपमा मृत्युको मुखमा लैजाने गरेको छ । तर भाइरल प्रकोपबारे नेपालका सरकारी र निजी अस्पतालहरूसँग कुनै तथ्यांक छैन ।
भाइरलसँग सम्बन्धित रोगले गर्दा अमेरिकामा बर्सेनी झण्डै ३६ हजार व्यक्तिको ज्यान जाने गरेको तथ्यांक छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘नेपालमा भने यसबारे अध्ययन हुन सकेको छैन ।’ – अन्नपूर्ण पोस्ट दैनिक