टाईब्रेकरमा स्पेन र डेनमार्क पराजित, आयोजक रसिया र क्रोएसिया क्वार्टरफाईनलमा

रसियाले क्वार्टरफाईनलमा क्रोएसियासँग खेल्ने

काठमाडौं – रसियामा जारि विश्वकप फुटबलको क्वार्टरफाईनलमा आयोजक रसिया प्रवेश गरेको छ। रसियाले टाइब्रेकरमा २०१०को बिजेता स्पेनलाई ४-३ गोलले पराजित गरेको हो।  निर्धारित ९० मिनेटको खेलमा रसिया र स्पेनले १-१ गोलको बराबरी गरेका थिए। खेल नतिजाकालागि आधा घण्टाको थपिएको समयमा दुवैतिरबाट गोल हुननसक्दा खेल टाईब्रेकरमा गएको थियो।

टाईब्रेकरमा रसियाका गोलकिपर एकिनफिवले २ पेनाल्टी बचाउँदै आफ्नो टोलीलाई जिताएका थिए। उक्त जितका हिरो रसियाका गोलकिपर भए। स्पेनका कोके र आसपासको पेनाल्टी एकिनफिवले बचाएका थिए। रसियाले हानेको ४ पेनाल्टी ४ वटै गोलमा परिणत भएको थियो।

निर्धारित ९० मिनेटको खेलको १२औं मिनेटमा रसियाका सर्जेई ईग्नासेविचले आत्मघाति गोल गर्दै स्पेनलाई १-०को अग्रता दिलाएका थिए।त्यसैगरि ४१औं मिनेटमा रसियाले पाएको पेनाल्टीलाई आर्तेम ड्युबाले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याएका थिए। स्पेनका रक्षा पंक्तिका खेलाडी पिकेले हातले बल रोक्दा रसियाले पेनाल्टी पाएको थियो।

रसियाले स्पेनको आक्रमणलाई निस्तेज पारेको थियो भने स्पेनले बललाई आफ्नो नियन्त्रणमा धेरै राखे पनि गोल भने गर्न सकेको थिएन।

गोलकिपर बाधक बन्दा क्रोएसियासँग डेनमार्क ३–२ गोलले पराजित

डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया फिफा विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नाटकीय सुटआउटमा क्रोएसियाले ३–२ को जित हात पार्यो ।

क्रोएसियालाई क्वार्टर फाइनलमा पुर्याउनका लागि गोलकिपर डेनियल सुबेसिचको उत्कृष्ट प्रदर्शन रह्यो । उनले सुटआउटको पाँच मध्ये तीन पेनाल्टी बचाएका थिए । चार जनाले पेनाल्टी प्रहार गर्दासम्म २–२ गोलको स्थितीमा रहेको अवस्थामा इभान राकिटिचले गोल गर्दै क्रोएसियालाई अन्तिम आठको बाटो देखाएका थिए ।

निर्धारित समय एक एक गोलको बराबरीमा सकिएको खेलको अतिरिक्त समयको अन्तिम समयमा क्रोएसियाले पेनाल्टी पाएको थियो । कप्तान लुका मोड्रिचले प्रहार गरेको सो पेनाल्टीलाई डेनमार्कका गोलकिपर क्यास्पर सेमाइकलले बचाएका थिए ।

नोभ्गोरोड स्टेडियममा पहिलो चार मिनेटभित्र दुई गोल भएपनि बाँकी समयमा थप गोल हुन सकेन । खेलको पहिलो मिनेटमा नै माटिस होर्गेनसनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता दुई मिनेटमात्र टिक्यो । चौथो मिनेटमा मारियो मान्जुकिचले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । सुटआउटमा दुबै टिमको पहिलो प्रहारमा गोलकिपर बाधक बने । डेनमार्कका क्रिष्टियन इरिक्सन र क्रोएसियाका मिलान बादेलको प्रहार गोलकिपरले बचाएका थिए ।

त्यसपछि डेनमार्कका सिमाने कार र माइकल क्रोनले तथा क्रोएसियाका अन्द्रे क्रामारिक र लुका मोड्रिचले गोल गर्दा खेल २–२ को स्थितीमा पुग्यो । त्यसपछि डेनमार्कका लास्से सोन र क्रोएसियाका जोसिप पिभारिकको प्रहार पनि गोलकिपरले विफल बनाए । निकोलाई योर्गेनसनको पाँचौं पेनाल्टी गोलकिपर सुबेसिचले बचाए । तर इभान राकिटिचको पाँचौं पेनाल्टी गोलमा परिणत भएपछि क्रोएसिया क्वार्टर फाइनलमा पुगेको हो ।

अब क्रोएसियाले सेमिफाइनल प्रवेशका लागि आयोजक रसियाको सामना गर्नेछ । रसियाले स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टर फाइनलमा स्थान बनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार