ओलीले फेरे आफ्नै बोली, जुम्लामा डा. गोविन्द केसीको अनसन

काठमाडाैं, १८ असार — डा. गोविन्द केसी अनसन बसेको दोस्रो दिन वितीसक्दा पनि सरकार टसमस भएको छैन । चिकित्सा शिक्षा अध्यादेश पारीत गरिनुपर्ने माग गर्दै डा.केसी शनिबारदेखि जुम्लामा अनसन बस्नुभएको छ ।

डा.केसीले विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक अन्य बुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गरिनुपर्ने र चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित अविलम्ब पूर्णता दिनुपर्ने अडान राख्नुभएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अनशन बस्ने योजना बुनेका डा. केसीलाई जुम्ला प्रशासनले त्यहाँ बस्न निषेध गरेपछि जिल्ला खेलकुद विकास समितीको कभर्ड हलमा सारिएको छ । डा. केसी अनशन बस्न लाग्दा शनिबार दिउँसो जिल्ला प्रशासन कार्यालय जुम्ला परिसरबाट प्रहरीले पक्राउ गरेको थियो ।

डा. केसी चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा जारी गर्नुपर्ने, मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा विषय पढ्ने अधिकारका लागि लड्दै आउनु भएको छ ।

यस्ता माग राख्दै अनसन सुरु गरेका डा. केसीलाई प्रहरीले शनिवार मध्याह्न पक्राउ गरे पनि चौतर्फी बिरोध भएको थियो । उक्त विरोधपछि ओली सरकार उहाँलाई रिहा गर्न बाध्य भयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले डा.केसीको अनसनको राम्रो व्यवस्थापन नभए सेवा ठप्प पार्ने चेतावनी सरकारलाई दिएका छन् । यस्तो चेतावनी पत्र जिल्ला प्रशासन कार्यालय समक्ष पेश गरेको डा.भूमिस काफ्लेले  जानकारी दिनुभयो ।

सरकारले अध्यादेश पारीत नगरे पनि प्रदेश सरकारले डा. गोविन्द कोसिका मागलाई स्वागत गरेको छ । डा. केसीले कर्णालीवासीहरुको न्यायका लागि आवाज उठाएको कर्णाली प्रदेशका गृह एवं कानूनमन्त्री नरेश भण्डारीले बताउनुभयो ।

यसैबीच नेपाल चिकीत्सक संघले प्रहरीले डा.केसीमाथि अमानविय व्यवहार भएकोमा आपत्ति जनाएको छ । डा. केसीले उठाएका मागलाई सहयोग र समर्थन गर्दै सत्याग्रहलाई निर्णायक तहमा पु(याउन संघले आग्रह गरेको छ ।

डा. केसी प्रहरीको हिरासत जस्तै गरि घेराबन्दीका बीच सत्याग्रहमा बस्नुभएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका दन्त विशेषज्ञ डा.भुमिस काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेट्न आउने शुभचिन्तकहरुलाई समेत कडाइ गरिएको छ । बन्धक जस्तै बनाएर राखिनु गैरकानुनी भन्दै डा.केसीले आक्रोश व्यक्त गर्नुभएको छ । डा.केसीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै जुम्लामा हस्ताक्षर अभियान चलाइएको छ । यो उहाँको १५ औं अनसन हो । — नेपाल समाचार पत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार