ब्राजिल र वेल्जियम क्वार्टरफाइनलमा, ‘फेयर प्ले’ टिम जापानले ‘मन’ जित्यो‘गेम’ जितेन

काठमाडौं –  मेक्सिकोलाई पराजित गर्दै ब्राजिल र ‘फेयर प्ले’ टिम जापानलार्इ पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २-० गोल अन्तरले हराएयाे भने बेल्जियमले जापानलार्इ ३-२ गोल अन्तरले हराएको हो ।

मेक्सिको त्यही टिम हो, जसले विश्वकपको आफ्नो पहिलो खेलमा नै साविकको विजेता जर्मनीलाई हराएको थियो । पहिलो हाफमा मेक्सिकोले ब्राजिललाई दबाव दिएको थियो । साथै गोल गर्ने केही मौका समेत पाएको थियो । तर पहिलो हाफ गोलरहित बराबरीमा सकियो । तर, दोस्रो हाफमा ब्राजिल हाबी भयो ।

ब्राजिलको जितमा स्टार खेलाडी नेइमार नायक बने । उनले ५१ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । त्यस्तै निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छँदा उनकै पासमा सब्सिच्युट रोबर्टो फर्मिनोले गोल गरे ।

स्पेनिस क्लवबाट फ्रेन्च क्लव पीएसजीमा गएपछि उनले धेरै खेल खेल्न पाएका थिएनन् । घाइते भए । र तिनै नेयमार गत फेब्रुअरी २५ तारिखदेखि आरामरत थिए । उनको अप्रेशन पनि भयो ।

नेयमारले विश्वकप खेल्ने सम्भावना न्यून थियो । तर ब्राजिलको टिम र उनका फ्यान निकै विश्वस्त थिए । आशीर्वाद लाग्यो । नेयमार खेल्न पाए ।

पहिलो खेलको तुलनामा दोस्रो र दोस्रोको तुलनामा तेस्रो खेलमा उनी फर्ममा फर्कदै गए । नभन्दै चौथो अर्थात् सोमबार राति भएको प्रिक्वार्टरफाइनलमा त उनी हिराेजस्तै भए –वान म्यान शो । नेयमार तिनै खेलाडी हुन् जसले इन्जुरीलाई जितेर मैदानमा आए । अहिले उनी एक्ला हिरो बनेका छन् ।

नेइमारले विलियनको क्रसमा गोलपोस्ट नजिकैबाट बललाई जाली चुमाए । नेइमारको गोल ब्राजिलले विश्वकपमा गरेको २२७ औं गोल हो । जुन अहिलेसम्मै धेरै हो । यसअघि विश्वकपमा धेरै गोल गर्ने देश जर्मनी रहेकोमा उसलाई पछि पार्दै ब्राजिलले कीर्तिमान राखेको हो ।

जुन गतिले ब्राजिलले खेल्न थालेको छ सम्भवतः ब्राजिल उपाधिको मुख्य दावेदार हो । ब्राजिलले क्वार्टर फाइनलमा वेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।

फिफाको आदर्श बमोजिम सम्मान खाएको ‘फेयर प्ले टिम’ (फेयर प्लेकै आधारमा राउन्ड अफ सिक्सटिनमा पुगेको) जापानले मन जिते पनि खेल जित्न नसक्दा अन्त्यमा राउन्ड अफ सिक्सटिनबाटै बाहिरिएको छ । जापान बेल्जियमसंग नाटकीय ढंगले ३–२ ले पराजित भएको हो ।

जापानले २–० ले अग्रता लिएर पनि त्यसलाई बचाउन नसक्दा हार नै बेहोर्न पुग्यो । पहिलो हाफमा गोल हुन सकेन । दुवै टिमको प्रहार विफल भयो । डिफेन्सिफ मजबुद गरेको जापानले गोल पनि गर्न दिएन ।

तर दोस्रो हाफको सुरुआतमै आक्रामक बनेको जापानले लगातार दुई गोल गर्यो । खेलको ४८औं मिनेटमा गेन्की हारागुचीले गोल गर्दै जापानलाई अग्रता दिलाए । त्यसको चार मिनेटमै ताकासी इनुईले गोल गर्दै २–०को अग्रता दिलाए ।

योसंगै जापानले क्वार्टरफाइनल यात्रालाई मजबुद बनायो । समूह चरणमा सतप्रतिशत नतिजा ल्याएको बेल्जियम समस्यामा पर्यो । तर जापानले २–० ले अग्रता लिएर पनि आफ्नो डिफेन्स लाइनलाई कडा पार्न सकेन र अन्ततः टुट्यो ।

खेलको ६९औं मिनेटमा जान भेर्टोन्गेनले गोल गर्दै बेल्जियमका लागि पहिलो गोल गरे । त्यसको पाँच मिनेटमै मारुने फेलानीले गोल गर्दै खेल २–२ को स्थितिमा ल्याए ।

खेल एक्स्ट्रा टाइममा जाँदै थियो । तर ६ मिनेट थपिएको समयको चौथो मिनेटमा नासेर छाद्लीले गोल गर्दै बेल्जियमलाई जिताए । बेल्जियमको काउन्टर एट्याक सफल भयो ।

बेल्जियमा विश्वकपको उपाधि दावेदार हो । जापानले भने निकै टक्कर दियो । त्यो टक्कर केवल ९० मिनेटका लागि मात्र देखियो ।

एसियाको एकमात्र टोली राउन्ड अफ सिक्सटिनमा पुगेको थियो । खेल बेल्जियमले त जित्यो तर मन भने जापानले नै जितेको छ । अनपेक्षित रुपले लिएको अग्रता बचाउन सकेको भए जापान क्वार्टरफाइनलमा हुने थियो अनि विश्वकपको दावेदार मानिएको बेल्जियम घर फर्कने थियो ।

यसअघिका दुई दिनका चारमा तीन खेलमा अनपेक्षित नतिजाहरु आइरहँदा सोमबार राति भने कुनै पनि नतिजा अनपेक्षित आएन । ब्राजिलले मेक्सिकोलाई २–० ले हराएको थियो ।

प्रिक्वार्टरफाइनल हेर्दा भने ब्राजिल बेल्जियमभन्दा अगाडि देखिएको छ । ब्राजिल पाँच पटकको च्याम्पियन हो भने बेल्जियम उपाधिको खोजीमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार