काठमाडौं – रसियामा जारि विश्वकप फुटबलको दाेसाे क्वार्टरफाईनलमा ईङल्याण्डले स्विडेनलाई २-० र आयोजक रसियालाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गरेका हुन् । दाेसाे दिनकाे क्वार्टरफाईनल खेलमा ईङल्याण्ड र क्रोएसियाले सेमीफाईनलमा आफ्नो स्थान पक्का गरेका छन्। अब ईङल्याण्डले सेमीफाईनलमा क्रोएसियाको सामना गर्नेछ ।
स्विडेनको तुलनामा ईङल्याण्ड राम्रो लयमा देखिएको थियो। लयसँगै खेलडीहरु संगठित पनि देखिएका थिए। बल आफ्नो पक्षमा राख्दै आफ्नो अनुकुल खेल खेलेको ईङल्याण्डले स्विडेनलाई खेलको कुनै पनि क्षेत्रमा हावी हुन दिएको थिएन।
खेलको ३०औं मिनेटमा एस्ले योंगले प्रहार गरेको कर्नरमा ह्यारी मग्वायरले टाउको मार्फत गोल गरेका थिए। त्यसैगरि दोस्रो गोल डेले अलीले गरेका थिए। उनी ईङल्याण्डकालागि २०१८ को विश्वकपमा गोल गर्ने पाँचौं खेलाडी हुन।
अन्तिम पटक सन् १९९०को विश्वकप फुटबलको सेमीफाईनल पुगेको ईङल्याण्डलाई विश्वकप फुटबलमा सेमीफाईनलको यात्रा गर्न २८ बर्ष लागेको छ। यसअघि सन् १९६६ मा ईङल्याण्ड सेमीफाईनल पुगेको थियो। उक्त विश्वकप ईङल्याण्डले जितेको थियो।
आयोजक रसिया विश्वकप फुटबलको क्वार्टरफाईनलबाट बाहिरिएको छ। क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित हुँदै बाहिरिएको हो।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट १-१ गोल भएपछि खेल थप समयमा गएको थियो। खेलको ३१औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै रसियालाई अग्रता दिलाएका थिए। क्रोएसियाका आन्द्रेज क्रामारिचले ३९औं मिनेटमा गोल गर्दै खेल १-१को बराबरीमा पुर्याएका थिए।
त्यसपछि ९० मिनेटसम्म थप कुनै गोल नहुनसकेपछि थपिएको ३० मिनेटमा दुवै टोलीले थप १-१ गोल गरेका थिए। खेलको १००औं मिनेटमा क्रोएसियाका डोमागोज भिडाले गोल गर्दै २-१ को अग्रता दिलाएका थिए। ११५औं मिनेटमा रसियाका मारियो फिग्वेरा फरनान्डेजले गोल गर्दै खेल २-२को बराबरीमा पुर्याएका थिए।
रसिया र क्रोएसियाको खेल रोमाञ्चक भएको थियो। शुरुमा रसियाले आफ्नो घरेलु मैदानमा अग्रता लिंदा खेलमा रसिया हावी हुने अनुमान गरिएको भए पनि क्रोएसियाले आफ्नो लय समात्दै खेलमा फर्केको थियो। दुवै टोलीले पालैपालो गोल गरि दिंदा खेलको अन्तिम नतिजा के हुने अनुमान गर्न दर्शकहरुलाई गाह्रो परेको थियो।
खेल टाईब्रेकरमा गएपछि भएको पेनाल्टी सुटआउटमा रसियाले २ पेनाल्टीलाई गोलमा परिणत गर्न सकेन भने क्रोएसियाले एउटा पेनाल्टीमा गोल गर्न सकेको थिएन।
रसियाकालागि फ्योदोर स्मोलोभ र मारियो फिग्वेरा फर्नान्डेसले गोल गर्न सकेका थिएनन्। स्मोलोभको बल क्रोएसियाका किपरले रोकेका थिए भने फर्नान्डेसले बाहिर प्रहार गरेका थिए। क्रोएसियाकालगि माटेओ कोभासिचको प्रहार रसियाका किपरले रोकेका थिए।