असार २५, काठमाडौं -अनशनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि नेपाल चिकित्सक संघले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।
जुम्लामा डा. केसीले अनशन थालेको नौं दिनपछि हिजो प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै संघले माग सम्बोधनका लागि ७२ घण्टे अल्टिमेटम दिएको हो ।
सो अवधिमा डा. केसीको माग सम्बोधनका लागि सरकारले कुनै पहल नगरे संघर्षका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी दिएको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो । जवाफमा प्रधानमन्त्री ओलीले यस विषयमा अध्ययन गरेर मात्र केही गर्न सक्ने बताउनु भएको श्रेष्ठले उल्लेख गर्नुभयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको छ । आज दशौं दिनको अनसन जारी रहँदा विभिन्न संक्रमणबाट बचाउन डा. केसीलाई कडाईका साथ आइसोलेसनमा राखेर उपचार गरिरहेको उपचारमा संलग्न टोलीका डा. प्रवीणकुमार गिरीले बताउनुभयो ।
डा. केसीले अन्य औषधि लिन नमानेका कारण उपचारमा कठिनाई भएको चिकित्सकले बताएका छन् । डा. केसीको छातीको बीच भागमा दुखाई बढ्नुका साथै टाउको दुख्ने तथा चक्कर लाग्ने, मांसपेशी बाउँडिने जस्तो समस्या देखिएको छ ।
डा. केसीको स्वास्थ्य अवस्था बुझ्न र आन्दोलनप्रति ऐक्यबद्धता जनाउन नेपाल चिकित्सक संघका केन्दीय वरिष्ठ उपाध्यक्ष नेतृत्वको टोली जुम्ला पुगेको छ । डा. केसीको आन्दोलनलाई कुनै पनि राजनीतिक रंग नदिन पनि चिकित्सक संघले आग्रह गरेको छ ।
यसैबीच, डा. केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै चितवनको भरतपुरमा सर्वसाधारणले प्रदर्शन गरेका छन् । डा. केसीको माग सम्बोधनका लागि दबाब दिन सो प्रदर्शन गरिएको सोलिडारिटी फर डा. गोविन्द केसी एलाइन्स चितवनले जनाएको छ । – कान्तिपुर दैनिक