एसईई नतिजा त्रुटि : शिक्षामन्त्रीले माफी मागे

काठमाडौँ, २५ असार —  शिक्षामन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशन गर्दा व्यवस्थापन र प्राविधिक पक्षमा कमजोरी भएको भन्दै माफी मागेका छन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले एसईईको परीक्षाफल प्रकाशनमा भएका गल्तीबारे मागेको स्पष्टीकरणको जवाफमा मन्त्री पोखरेलले तीन सदस्यीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार परीक्षा नियन्त्रकलाई कारबाही गरिसकिएको जानकारी गराए ।

‘व्यवस्थापकीय र प्राविधिक गल्ती भएको देखियो । सफ्टवेयरको कमजोरीले जो रिजल्ट आयो, त्यसले विद्यार्थीको सफलतामा कुनै असर नपरेको कुरा सदनलाई जानकारी गराउँछु,’ उनले भने ।

परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसईईको नतिजामा ९ हजारभन्दा बढी विद्यार्थीको ग्रेडसिट वृद्धि भएको थियो । नतिजा प्रकाशन भएको करिब २४ घण्टापछि मात्रै त्रुटि भएको थाहा पाएर कार्यालयले गल्ती सच्याएको थियो । ‘परिणाम आइसकेपछि ग्रेड घटबढ भयो,’ शिक्षामन्त्री पोखरेलले भने, ‘वास्तवमा त्यसप्रति पनि म क्षमा चाहन्छु ।’

राष्ट्रिय परीक्षा बोर्ड गठन भइसकेकाले अब सबै कुरा व्यवस्थित गर्ने गरी मन्त्रालय अघि बढेको उनले बताए । त्रुटि भेटिएपछि कार्यालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुखको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले प्रतिवेदन बुझाएलगत्तै परीक्षा नियन्त्रण अम्बिकाप्रसाद रेग्मीलाई कारबाहीस्वरूप मन्त्रालय सरुवा गरिएको छ ।

पाठ्यक्रम विकास केन्द्रका प्रमुख कृष्णप्रसाद काप्रीलाई कार्यालयको जिम्मेवारी दिइएको छ । यद्यपि शिक्षा मन्त्रालयले प्रतिवेदन भने सार्वजनिक गरेको छैन । — कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार