गर्भवती भएको कसरी थाहा पाउन सकिन्छ ? जानि राखौँ

काठमाडौँ, २५ असार – महिलाहरु गर्भवती भएको मुख्य सूचक हो महिनावारी रोकिनु । तर, गर्भ बोकेको केही हप्ता बितिसकेपछि मात्रै महिनावारी रोकिन्छ । जब एग फर्टिलाइज भएर यूटरसमा प्रत्यारोपित हुन्छ, अनि महिला गर्भवती हुन्छिन् । यो घटना महिनावारी रोकिनुभन्दा निकै अगाडि हुन्छ । त्यसो भए महिनावारी रोकिनु अगावै गर्भवती भएको कसरी थाहा पाउने ?

खासमा गर्भावस्थाको प्रारम्भिक चरणमा नै धेरै किसिमका लक्षणहरु देखिएका हुन्छन् । यिनीहरुलाई बुझ्न सके गर्भ रहेको पत्ता लगाउन सहज हुन्छ । हामी यहाँ ती संकेतहरुबारे चर्चा गर्दैछौं ।

  • स्तनमा परिवर्तन

गर्भधारण गरेको १-२ हप्तामा नै स्तनमा परिवर्तन देखिन थाल्छ । यस दौरान स्तनमा दुखाई, भारीपन तथा आकार ठूलो हुन सक्छ ।

  • शरीरको तापक्रममा फरक

जब हामी आरामको अवस्थामा हुन्छौं त्यतिबेलाको हाम्रो शरीरको तापमानलाई ‘बेसल बडी टेम्परेचर’ भनिन्छ । महिनावारीका क्रममा यो तापमान बढ्छ तर, गर्भावस्थाका दौरान बीबीटी बढेको बढ्यै हुन्छ । त्यसैले तपाईंले आफ्नो शरीरको तापमानमा ध्यान दिनुपर्छ ।

  • हल्का रक्तश्राव

यदि तपाईंको मासिक धर्म नियमितरुपमा २८ दिनको साइकलमा हुन्छ भने गर्भ रहेको बेला २०-२४ दिनदेखि नै हल्का रक्तश्राव हुन थाल्छ । यसलाई इम्प्लान्टेसन ब्लिडिङ पनि भनिन्छ ।

  • थकावट

गर्भावस्थाका सुरुवाति दिनहरुमा प्रोजेस्टेरोन हार्मोनको विकास हुन्छ । यसको कारणले थकाइ लाग्ने, निद्रा लाग्ने हुन थाल्छ । यसको साथै यी दिनहरुमा टाउको दुख्ने, कमर दुख्ने समस्याहरु पनि हुन्छन् ।

  • बारम्बार पिशाब लाग्नु

बारम्बार पिशाब लागिरहनु पनि गर्भावस्थाको एउटा लक्षण हो । खासगरी राति सुतेको बेला धेरै पिशाब लाग्छ ।

  • खाना मिठो नलाग्नु

यतिबेला तपाईंलाई पहिले अत्यधिक मन पर्ने खानेकुरा रुच्न छोड्छ । त्यसको बास्ना र स्वाद मन पर्दैन । लगभग ८५ प्रतिशत महिला सुरुवाती ३ महिनामा यस्तो स्थितिबाट गुजि्रन्छन् ।

  • चक्कर लाग्नु

गर्भावस्थाका दौरान रक्तचाप कम हुन्छ । यसले गर्दा चक्कर लागिरहन्छ । सुरुवाति तीन महिनामा यस्तो अत्यधिक हुन्छ । दोस्रो त्रैमासिकमा रक्तचाप सामान्य अवस्थामा आउँछ ।

  • मुड चेन्ज तुरुन्तै

प्रेग्नेन्सीका क्रममा हार्मोनल चेन्जहरु हुन्छन् जसले दिमागको न्यूरोट्रान्समिटर्समा प्रभाव पार्छ । यसले गर्दा अचानक रुने, अचानक रिस उठ्ने वा अचानक खुशी हुने स्वभाव देखापर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार