बेल्जियमलाई १-० ले हराउँदै फ्रान्स फाइनलमा

काठमाडौं-  सन् १९९८को विश्वकप बिजेता फ्रान्स रसियामा जारि विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ। विश्वकपमा उपाधि दावेदार मानिएको बेल्जियमलाई १-० गोलले पराजित गर्दै फ्रान्स फाईनल प्रवेश गरेको हो।

दुवै टोलीका बिच खेल प्रतिस्पर्धात्मक रहेको थियो। पहिलो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेको थिएन। दुवै टोलीले आक्रमक फुटबल खेलेका थिए। दुवै पक्षबाट केही खतरनाक आक्रमणहरु भएका भए पनि गोलमा परिणत हुन सकेको थिएन।

खेलको ५१औं मिनेटमा फ्रान्सका स्यामुएल उम्टिटीले कर्नरमा ग्रिजम्यानले गरेको प्रहारलाई टाउको मार्फत जाली चुमाएका थिए। खेलमा बेल्जियमले ६५ प्रतिशत समय बल आफ्नो पक्षमा राखेको थियो।

धेरै बल आफ्नो नियन्त्रणमा राखेको भए पनि बेल्जियम भन्दा फ्रान्सले पोस्टमा बढी आक्रमण गरेको थियो। फ्रान्सले १९ आक्रमण गरेको थियो भने बेल्जियमले ९ पटक मात्र आक्रमण गरेको थियो।

सन् १९९८को बिजेता फ्रान्स सन् २००६मा भएको विश्वकपमा दोस्रो भएको थियो। बेल्जियमको यो दोस्रो विश्वकप सेमीफाईनल खेल हो। सन् १९८६मा बेल्जियम अर्जेन्टिनासँग सेमीफाईनलमा पराजित भएको थियो।

इन्ज्युरी समयमा फ्रान्सले दुईवटा उत्कृष्ट अवसर पाएको थियो । ग्रिजम्यान र टिलिसोको प्रहारलाई बेल्जियम गोलकिपरले सहजै बचाए । बेल्जियमले बाँकी समयमा खेलमा फर्किने प्रयास गरे पनि गोल गर्न नसक्दा पहिलो पटक विश्वकप फाइनल खेल्ने लक्ष्य पूरा हुन सकेन।

फ्रान्सले फाईनलमा ईङल्याण्ड र क्रोएसिया बिच हुने दोस्रो सेमीफाईनलको बिजेतासँग खेल्ने छ। बेल्जियमले तेस्रो स्थानकालागि दोस्रो सेमीफाईनलको पराजित टोलीसँग खेल्ने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार