काठमाडाैं, ३१ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरिको डाँडामा पुगेर लेखेको कविता यतिखेर चर्चाको विषय बनेको छ । १० हरफको कवितामा प्रधानमन्त्री ओलीले ‘मरेपछि पनि सपना देख्न पाउँ’ भन्ने कामना गरेका छन् ।
मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको तीनदिने हिमवत कला साहित्य सम्मेलनको अन्तिम दिन कवि चन्द्रागिरि पुगेका प्रधानमन्त्री ओलीले कविता रचेका हुन् ।
कवि के पी ओलीको कविता : ‘मरेपछि पनि सपना देख्न पाउँ’
“परिवर्तनशील दुनियाँमा सँधै बाँचेको को छ र ?
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ !
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाइयोस् कमसेकम
सगरमाथा, लुम्बिनी, मेची र महाकाली
हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली
सपनामा भए पनि देख्न पाउँ
चन्द्रागिरिको डाँडोमा आएर सपनामा
भावी सन्तति मुस्कुराइरहेको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्बीर खिच्न पाउँ
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ ।”
प्रधानमन्त्री केपी शर्मा ओलीको कवितालार्इ काठमाडौँका कवि डा. रामप्रसाद ज्ञवाली गण्डकी प्रदेशको गोरखाका कवि नारायण पोखरेल र प्रदेश नं ५ को अर्घाखाँचीका कवि बुँद रानाले गजलबाट समृद्धिको तीर्खाले भाका हालेर कवितामै जवाफ दिएका थिए ।
प्रधानमन्त्री ओलीको पञ्चायतकालमा लेखिएको “खर्पन” कविता केही वर्षअघि सार्वजनिक भएको थियो । उनले जेल जीवनमा धेरै कविता र गीत लेखेको भए पनि तिनको संरक्षण गर्न नसकिएको बताउँदै आएका थिए ।
प्रधानमन्त्री केपी ओली सपना देखाउने नेताका रुपमा चिनिन्छिन् । प्रधानमन्त्री ओलीले कवितामा समेत सपनाकै कुरा गरेका छन् र मरेपछि पनि सपना देखिरहन पाउँ भन्दै उनले आफूले देख्दै आएका सपनाहरुको प्रतिरक्षा गरेका छन् ।