कानुन मिचेर जथाभावी उपचार खर्च, यी हुन् बढी सहायता पाउनेहरू ?

काठमाडौँ, ३२ असार  –  भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिइरहेको सरकारले कानुन मिचेर जथाभावी उपचार खर्च बाँडेको पाइएको छ । मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी ओली र प्रभावशाली मन्त्रीका आफन्त, सत्तारूढ दलका नेता तथा कार्यकर्तालाई औषधोपचार खर्चका नाममा राज्यको ढुकुटीबाट ठूलो मात्रामा रकम वितरण गरेको हो ।

सरकारले ‘नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि २०७३’ को दफा १२ को औषधि उपचारको आर्थिक सहायतासम्बन्धी व्यवस्था तथा ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७१’ विपरीत मन्त्रिपरिषदको तजबिजी निर्णयका आधारमा आर्थिक सहायता वितरण गरेको हो ।

फागुन ३ मा केपी ओली प्रधानमन्त्री निर्वाचित भएयताको झन्डै ५ महिनामा सरकारले ३ करोड रुपैयाँभन्दा बढी रकम बाँडिसकेको प्रधानमन्त्री कार्यालयको वेबसाइटमा राखिएको मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ ।

कार्यविधि र निर्देशिका दुवैमा सरकारले सम्बन्धित व्यक्तिलाई आर्थिक सहायता नदिई बिलअनुसारको उपचार खर्च सोझै अस्पताललाई दिने प्रस्ट व्यवस्था छ । तर, सरकारले कानुन मिचेर निवेदनका भरमा पहुँचवालालाई आर्थिक सहायता दिएको हो ।

‘नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि २०७३’ को दफा १२ मा ‘राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तिलाई औषधि उपचारको आर्थिक सहायतासम्बन्धी व्यवस्था’ मा सरकारले बिलअनुसार उपचार खर्च सोझै अस्पताललाई दिने व्यवस्था छ । विदेशमा उपचार गर्नुपरेमा सम्बन्धित मुलुकको नेपाली दूतावासमार्फत बिलअनुसारको खर्च सोझै अस्पताललाई भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७१ मा पनि आफैं उपचार गराउने आर्थिक सहायता नभएका व्यक्तिलाई मुटु, क्यान्सर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, अल्जाइमर्स, पार्किन्सस, मिर्गौलालगायत कडा रोगको उपचारका लागि २ लाख रुपैयाँसम्म बिलबमोजिम अस्पताललाई भुक्तानी दिने व्यवस्था छ ।

यी रोगको उपचार मेडिकल बोर्डको सिफारिसमा विदेशमा गर्नुपरेमा अस्पतालको बिल भर्पाइ लिई २ लाख रुपैयाँ खर्च दिने व्यवस्था छ । निर्देशिकामा उपचारका लागि सरकारबाट आर्थिक सहायता पाउन जिल्ला समन्वय समितिका सभापतिको संयोजकत्वमा रहेको समितिले सम्बन्धित व्यक्तिलाई विपन्न भएको प्रमाणसहित सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

कार्यविधि र निर्देशिकामा उल्लिखित मापदण्डको खिल्ली उडाउँदै ३ लाखदेखि १५ लाख रुपैयाँसम्म आर्थिक सहायता दिइएको छ । यसरी तजबिजी निर्णयबाट उपचारका नाममा ठूलो रकम आर्थिक सहायता पाउनेमा प्रभावशाली नेताको गृह जिल्लाका धेरै छन् ।

कानुनविपरीत आर्थिक सहायता पाउनेमा इलामका मिमाङ तेम्बे १२ लाख, धनगढीका नरेन्द्रराज पोखरेल ६ लाख, झापाका खगेन्द्र चुडाल १५ लाख, हेटौंडाका श्रीचन्द्र शर्मा १० लाख, विराटनगरका लव प्रधान १० लाख, तत्कालीन एमालेकी पूर्वसांसद विश्वेश्वरा दाहाल ७ लाख, चितवनका ध्रुव घिमिरे ७ लाख, ताप्लेजुङका रविन सुनुवार ३ लाख, ताप्लेजुङकै अनुप खिम्दिङ ३ लाखलगायत छन् ।

पूर्वमन्त्री खुमबहादुर खडकाको नयाँदिल्लीमा भएको उपचार खर्चबापत १५ लाख रुपैयाँ त्यहाँको दूतावासमार्फत अस्पताल दिइएको र पूर्वसांसद जागृतप्रसाद भेटवालको उपचारका लागि १५ लाख रुपैयाँ आर्थिक सहायता दिइएको समेत प्रधानमन्त्री कार्यालयको वेबसाइटमा उल्लेख छ । खडका र भेटवालको उपचारकै क्रममा मृत्यु भइसकेको छ ।

आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थाइल्यान्डमा, राजपाका नेता महन्थ ठाकुर र राष्ट्रकवि माधव घिमिरेलाई भारतको नयाँ दिल्लीस्थित अस्पतालमा गरेको उपचारको खर्च भने त्यहाँस्थित नेपाली दूतावासले कानुनबमोजिम बिलका आधारमा भुक्तानी गरेको प्रधानमन्त्री कार्यालयको वेबसाइटमा छ । कान्तिपुर दैनिकबाट

बढी सहायता पाउनेहरू ?

खगेन्द्र चुडाल, झापा१५ लाख

मिमाङ तेम्बे, इलाम१२ लाख

श्रीचन्द्र शर्मा, हेटौंडा१० लाख

लव प्रधान, विराटनगर१० लाख

विश्वेश्वरा दाहाल७ लाख

ध्रुव घिमिरे, चितवन७ लाख

नरेन्द्रराज पोखरेल, धनगढी६ लाख

रवीन सुनुवार, ताप्लेजुङ३ लाख

अनुप खिम्दिङ, ताप्लेजुङ३ लाख

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार