कुश्मामा घर माथिको ढिस्को खसेर पहिरोले घर पुरिदा, निद्रामै निल्यो पहिरोले

कुश्मा, ३ साउन —  कुश्मामा घर माथिको ढिस्को खसेर पहिरोले घर पुरिदा विकास परियारकाे मृत्यु भएकाे छ । घरभित्रको माथिल्लो काेठाकाे खाटमा सुतेका छोरालार्इ पहिरोले निद्रामै निल्यो ।  गाउँमा खेत रोप्ने चटारो अझै छ  । दिनभरी खेत रोपेर फर्किएकाले थकान भएका उनी मस्त निद्रामा थिए ।

जलजला–८, लस्तीस्थित बरनेटाको बमबहादुर परियारको परिवार  साउने संक्रान्तिमा लुतो फालेर ११ बजे सुतेका उनीहरु बिहान मुख समेत देख्न नपाइकन छोरा गुमाउन बाध्य भए ।सुत्ने बेलामा सामान्य पानी परेको थियो । वर्षायामको समयमा परेको वर्षालाई सामान्य जस्तै मानेर दिनभरीको कामले थकान भएका उनीहरु मस्त निद्रामा थिए ।

वर्षा बढ्दै गएपछि घर माथिको ढिस्कोबाट खसेको पहिरोले घर नै पुरियो । गड्याङगुडुङको आवाज आएपछि राति एक बजे बमबहादुर र उनकी श्रीमती घर बाहिर निस्कन सफल भए तर घरभित्रको माथिल्लो खाटमा सुतेका छोरा विकास परियार भने पहिरोले पुरिए । भर्खर कमाइ गर्न थालेको छोरो पहिरोले पुरिएपछि बमबहादुरको परिवारमा ठूलो बज्रपात परेको छ ।

अध्यारोमा आफ्नै ज्यान जोगाउन मुस्किल भएपछि बाहिर निस्केर विकासलाई ठूलो स्वरमा चिच्चाएर बोलाए तर उनी निद्रामै भएकाले सुनेनन् जतिबेला उनलाई पहिरोले पुरिसकेको थियो । बमबहादुरका २ वटा छोरा छन् । जसमध्ये विकास जेठा हुन् भने अर्का विद्यालय पढ्दै छन् ।

त्यसपछि पहिरोले पुरै घर पुरेकाले विकास पनि पुरिएका थिए । उनको शव बिहान सुरक्षाकर्मी र स्थानीयवासीको पहलमा पहिरो पन्छाएपछि मात्र भेटिएको थियो । विपन्न तथा सुकुम्बासी परिवारका २६ वर्षीय विकास ट्याक्टर चालक हुन । दिनभरी ट्याक्टर चलाएर फर्किएका उनी सुतेकै ठाउँमा चीर निद्रामा परे ।

पहिरोका कारण बमबहादुरको मात्र हैन स्थानीय विपन्न परिवारका अन्य १४ घरमा पूर्ण रुपमा क्षति पुगेको छ । बिहान हेर्दा पहिरोले असर नगरेको कुनैपनि घर नरहेको वडा नं. ८ का वडाध्यक्ष हरिविकास जिसीले बताए । गाउँको इमान्दार तथा भविष्यमा आशालाग्दो युवालाई पहिरोले पुरेर ज्यान गुमाएपछि सिंगो दलित बस्ती शोकमा डुबेको छ ।

पहिरोका कारण ज्यान गुमाएका विकासको परिवारलाई घटनास्थलमै पुगेर प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र जिल्ला समन्वय समितिका प्रमुख मनोहर बी पौडेलले रु. एक लाख रुपैयाँ राहत प्रदान गरेका छन् । विकासको शव जिल्ला अस्पतालमा पोस्टमार्टम गर्न ल्याइएको भएपनि गर्नुनपर्ने भन्दै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

पहिरोमा परेर सात घर पूर्ण रुपमा भत्किएका छन् भने बाँकी ७ घरपनि बस्न नमिल्ने गरी क्षति भएको प्रहरीले जनाएको छ । अन्य २२ घर समेत जोखिममा छन् । वर्षाकै कारण जलजला गाउँपालिका वडा न ७ धाइरिङ बास्कोट बस्ने भीमलाल आचार्यको घर पहिरोले पुरिँदा तीन जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा घरमुलि भीमलाल आचार्य, तुलसीदेवी आचार्य र नारायणी आचार्य छन् । घाइते मध्ये गम्भीर अवस्था भएका भीमलाललाई थप उपचारका लागि काठमाडाैं रिफर गरिएको छ भने श्रीमती तुलसीदेवी आचार्य र पाहुना बस्न आएकी नारायणी आचार्यलाई थप उपचारको लागि पोखरा लगिएको छ । आचार्यको घर समेत पहिरोका कारण पूर्ण रुपमा क्षति पुगेको छ ।

पहिरोमा परी घरवारविहीन बनेका पीडितको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयबासीले पहल गरिरहेका छन् । उनीहरुको राहतका लागि पहल समेत भइरहेको छ । विस्थापित परिवारलाई स्थानीयवासी तथा नजिकै रहेको विद्यालयमा राख्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

उनका अनुसार उक्त बस्तीका सबै बासिन्दाहरुलाई फरक सुरक्षित स्थानमा राख्नुपर्ने अवस्था रहेकोले उपयुक्त जग्गाको खोजी भइरहेको पनि बताए ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसेर पीडित परिवारलाई तत्काल खाद्यान्न, लत्ताकपडा र नगद सहयोग गर्ने निर्णय गरेको छ । उक्त निर्णय लगत्तै उद्योग वाणिज्य संघ, रेडक्रस र लायन्स क्लबको संयुक्त टोली त्रिपाल, भाडाकुडा, खाद्यान्नसहित घटनास्थलमै पुगेर वितरण गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिए । सबै पीडित परिवारहरुलाई एक महिनाको लागि पुग्ने खाद्यान्नसहित अन्य लत्ताकपडा र भाँडाकुडा वितरण गरिएको छ ।

वर्षाकै कारण लस्तीखोलामा आएको बाढीको कटानले आसपासका अन्य पाँच घर पनि जोखिममा परेका छन् । उक्त घरका परिवारपनि अहिले आफन्तकोमा आ श्रय लिएर बसेको प्रहरीले जनाएको छ । कतिपय पक्की घरहरु समेत खोलाको कटानले क्षतिग्रस्त बनेका छन् । – अन्नपूर्ण पोस्ट दैनिक

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार