http://jagdambacement.com/

डा. केसीको मुटुमा गम्भीर समस्या, काठमाडौँ ल्याउने तयारी

जुम्ला, ३ साउन  – चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको मुटुमा गम्भीर समस्या देखिएको छ । मंगलबार राति साढे १२ बजे र बिहान ४ बजे दुई पटक उनको ९ वटासम्म एक्टोपिक बिट्स (मुटुको धड्कनमा गड्बढी) देखिएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।

यस्तै परिस्थिति रहे डा. केसीलाई जुनसुकै बेला सीसीयूमा राखेर उपचार गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए। ‘यो सुविधा अस्पतालमा छैन,’ उनले भने, ‘सरकारले तत्काल वैकल्पिक व्यवस्थाका लागि यसतर्फ ध्यान दिन जरुरी छ।’

दुवै हातका नसामा पनि संक्रमण देखिएको छ। निरन्तर घटिरहेको सेतो रक्तकोशिका र संक्रमणका कारण जोखिम बढेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

चिकित्सकका अनुसार रगतमा पोटासियम, म्याग्नेजियम र क्याल्सियम निकै कम भइसकेको छ तर डा. केसीले औषधि लिन मानेका छैनन्।

श्वासप्रश्वासमा अझ कठिनाइ देखिएको र चौबीसै घण्टा अक्सिजन दिइरहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार छाती दुख्ने, रिंगटा लाग्ने, मांसपेशी बाउँडिनेलगायत समस्या डा. केसीमा देखिएको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको बैठक बसेर बुधबार अबेर डा. केसीलाई काठमाडौं ल्याउने र उनका मागबारे खुला छलफल गर्ने निर्णय गरेको छ ।

केसीका जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै आजै नै हेलिकोप्टरबाट काठमाडौं ल्याउन पहल गर्ने निर्णय भएको छ । यही विषयमा जानकारी दिन अहिले बिहान ८ बजे शिक्षमन्त्री गिरीराजमणि पोखरेलले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेका छन । – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार