ज्यानमारा टिपरलाई स्थानीयले ठाउँको ठाउँ यसरी गरे कारबाही

काभ्रे, ८ साउन – काभ्रेको बनेपा नगरपालिका–७ चारदोबाटोमा सोमबार दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ । बनेपाबाट धुलिखेलतर्फ गइरहेको बा.२ क ३९३४ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको बा ८३प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नमोबुद्ध नगरपालिका–७ का ५७ वर्षीय जितबहादुर तामाङको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनीलजंग शाहका अनुसार तामाङको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको हो । दुर्घटनापछि आक्रोशित भिडले टिपरमा आगजनी गरेका थिए । प्रहरीका अनुसार टिपरचालक नुवाकोट विदुर नगरपालिका–१ का २९ वर्षीय सुधन श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।

टिपरका कारण धेरैले अकालमा ज्यान गुमाएको जनाउँदै स्थानीयले टिपर सञ्चालनमा रोक लगाउने चेतवानी दिएका छन् । स्थानीय विशाल तामाङले भने, ‘टिपरचालकले घाइते अवस्थामा रहेका मोटरसाइकलचालकलाई ब्याक गरेर किचेर मारे । म चारदोबाटाबाट धुलिखेलमा जान गाडी चढ्ने तयारीमा थिएँ, एक्कासि ठूलो अवाज आयो, हेर्दा दुर्घटना भएको रहेछ । मोटरसाइकलचालक घाइते अवस्थामा थिए, पछि सारेर किचेर मा-यो ।’

जिल्ला ट्राफिक कार्यालय काभ्रेले दिएको तथ्यांकअनुसार जिल्लामा एक वर्षमा भएका विभिन्न सवारी दुर्घटनका कारण ६५ जनाले ज्यान गुमाएका छन् । त्यसमध्ये २७ जनाको टिपरको ठक्करबाट ज्यान गएको छ । – नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार