भागबन्डा मिलाउन मन्त्रालय फुटाइयो

काठमाडौँ, ११ साउन –  सरकारले दोस्रोपटक मन्त्रालय संख्या बढाएको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर दुइटा बनाएको छ । फुटाएर कृषि तथा पशुपक्षी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाइएसँगै अब मन्त्रालय संख्या २२ पुगेको छ ।

एउटा मन्त्रालय थप्दा मन्त्री, सचिव, निजी तथा स्वकीय सचिवालय र विभिन्न महाशाखाका लागि वर्षको कम्तीमा ५० करोड रुपैयाँ प्रशासनिक खर्च बढ्ने प्रधानमन्त्री कार्यालयकै अधिकारीले जनाए ।

अधिकारसम्पन्न संघीय पुन:संरचना समितिले १५ र तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी नेतृत्वको प्रशासनिक पुन:संरचना कार्यदलले ११ मन्त्रालय मात्र राख्न सिफारिस गरेका थिए ।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई अलगै मन्त्रालय दिन मन्त्रालय फुटाइएको हो । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्यमन्त्री बनाएपछि अर्याललाई छुट्टै कार्यभार दिन मन्त्रालय टुक्र्याउनुपरेको स्रोतले जनायो ।

प्रधानमन्त्री केपी ओलीले सत्तासीन भएको ८ दिनमै मन्त्रालय संख्या ३१ बाट १८ बनाएका थिए । तर, ओलीको त्यो निर्णय तीन साता पनि टिकेन । चैत २ मा उनले संख्या बढाएर २१ पुर्‍याएका थिए ।- कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार