पेरिसको जेलबाट हेलिकोप्टरमा चढेर गुण्डा नाइके भागेपछि

फ्रान्सको प्यारिस नजिकै रहेको जेलबाट कुख्यात गुण्डा नाइके रिदुअन फइद हेलिकप्टर चढेर भागेका छन्। अत्याधुनिक राइफलसहित हेलिकोप्टरमा आएका तीन जनाको मद्दतमा उनी फरार भएका हुन्। ती राइफलधारीले बम र फलाम काट्ने हतियारको प्रयोग गरी जेलको आगन्तुक कक्षबाट फइदलाई बाहिर निकालेर नजिकै रोकिएको हेलिकप्टरमा राखेर भगाउन सफल भएका थिए।

रोचक के छ भने ती बन्दुकधारीले व्यावसायिक उडान तालिम दिने हेलिकप्टरका पाइलटलाई बन्धक बनाएर ल्याएका थिए। जसले फइदलाई भगाउन सहयोग पुग्यो। जेलबाट फइदलाई बोकेर उडेको हेलिकप्टर नजिकैको गोनिसी क्षेत्रमा लगिएको थियो। र प्रहरीले त्यसलाई फेला पारेका छन्।

बिबिसी नेपालीका अनुसार ४६ वर्षीय फइदलाई असफल डकैतीको मुद्दामा २५ वर्ष जेल सजाय तोकिएको थियो। जेल तोडेर उनी भागेको यो दोस्रो घटना हो। सन् २०१३ मा उनी चारजना गार्डलाई कब्जामा लिएर उनीहरूलाई मानवढाल बनाउँदै कैयौँ ढोकाहरू डाइनामाइट विस्फोट गराएर भागेका थिए।

त्यसबेला उत्तरी फ्रान्सको जेलमा पुर्‍याइएको आधा घण्टामै उनी भाग्न सफल गएका थिए र ६ हप्तासम्म फरार रहे। अहिले फइदको खोजीका लागि तीन हजार फ्रान्सेली प्रहरी परिचालित गरिएको एफएफपीले जनाएको छ। उनलाई पक्रन हरसम्भव उपाय भइरहेको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

फ्रान्सकी न्यायमन्त्रीले उक्त जेल तोडेको घटनालाई ‘शानदार’ भन्दै व्यापक तयारी गरेका कमाण्डोहरूको प्रयोग गरिएको हुनसक्ने बताइन्।बन्धक बनाइएका पाइलटलाई पछि रिहा गरिएको थियो र आघातबाट पीडित पाइएकाले अस्पताल लगिएको थियो।

हेलिकप्टरबाट ओर्लिएपछि फइद एउटा कारमा चढेर ए वान मोटरवेतर्फ अघि बढेको थियो। पछि उक्त कार जलेको अवस्थामा प्यारिसको एउटा शपिङ सेन्टरको कार पार्किङमा फेला परेको थियो।

सन् १९७२ मा जन्मिएका फइद प्यारिसको कुख्यात क्षेत्रमा हुर्किएका थिए। सन् १९९० को दशकमा फ्रान्सको राजधानीमा उनले सशस्त्र डकैती र फिरौती असुल गर्ने एउटा समूह सञ्चालन गरेका थिए।

उनले आफ्नो जीवनशैली गुण्डा नाइके पात्र भएका हलिवूड सिनेमाबाट प्रेरित भएको बताउने गर्थे। अमेरिकी निर्माता माइकल म्यानका अपराधसम्बन्धी सनसनीपूर्ण चलचित्रबाट आफू प्रेरित भएको उनले बताउँथे।

ब्याङ्क डकैतीको सीप सिक्न दर्जनौँ पटक चलचित्रहरू हेरेको उनले दाबी गरेका थिए। सन् २००९ मा उनले प्यारिसको आपराधिक घटना बढी हुने बाहिरी इलाकामा हुर्कँदाको अनुभव र कानून मिच्नेबारे आफ्नो सिकाइ सम्मिलित किताब प्रकाशमा ल्याएका थिए।

सन् १९९८ मा ब्याङ्क डकैती र चोरीका एउटाभन्दा बढी अभियोगमा पक्राउ परेपछि फइद थुनामा पर्ने र जेलबाट भाग्ने क्रम निरन्तर चलिरहेको छ।

फ्रान्सको जेलबाट हेलिकप्टरमा भाग्ने उनी पहिलो बन्दी होइनन्। सन् २००१ मा तीनजना सशस्त्र डाँकाहरू दक्षिणी फ्रान्सको एउटा जेलबाट भागेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार