नेदरल्यान्ड्स पुगेको नेपालले आज एकदिवसीय अन्तर्राष्ट्रिय खेल्‍ने

काठमाडौं, १६ साउन – नेदरल्यान्ड्सको एमस्ट्राडमको एमस्टलभिनस्थित भीआरए क्रिकेट मैदानमा बुधबार नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने २३ औँ राष्ट्र बन्‍नेछ। आईसीसी ११, एसिया ११, अफ्रिका ११ र इस्ट अफ्रिका गरी कुल २६ टोलीले यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका छन्। नेपाल २७ औं टोली हो।

हाल एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका १६ राष्ट्र मात्र छन्। त्यसभित्र टेस्ट खेल्ने १२ राष्ट्र पर्छन्। नेपालसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड र यूएई भने एकदिवसीय अन्तर्राष्ट्रिय मात्र खेल्नेछन्। टेस्ट खेल्ने १२ राष्ट्र र नेदरल्यान्ड्सले माथिल्लो वरीयतामा प्रतिस्पर्धा गर्नेछन्। नेपालसहित बाँकी अन्यले भने अर्को वरीयतामा खेल्नेछन्।

पारसको कप्तानीमा नेपालले २०१४ मा टवान्टी-२० विश्वकप खेलेको थियो। अहिले एकदिवसीय अन्तर्राष्ट्रियमा पनि एक कदम पाइला बढाएको हो।

नेदरल्यान्ड्ससँगको खेलबाट नेपाल ऐतिहासिक रूपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्लबमा प्रवेश गरे पनि वरीयतामा आउन कम्तीमा चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नुपर्नेछ। नेदरल्यान्ड्ससँग नेपालले दुई खेल खेल्नेछ।

हाल युरोप भ्रमणमा रहेको नेपालले स्कटल्यान्डसँग पनि दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने कार्यक्रम बनेको थियो। खर्च अभावमा स्कटल्यान्डले पछि खेल्न मानेन। त्यसैले नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरीयतामा आउन केही समय कुर्नुपर्ने भएको छ।

‘हामी कहाँ थियौं र अहिले कहाँ आइपुग्यौं भनेर सोच्दा नै अचम्म लाग्छ,’ कप्तान पारसले आईसीसीसँग भनेका छन्। आठ वर्षअघि मात्र नेपाल विश्व क्रिकेट लिगको डिभिजन ५ मा थियो। डिभिजन क्रिकेटमा यो सबैभन्दा पुछारको लिग थियो त्यतिखेर।

यसका लागि नेपालले लामो यात्रा तय गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको २२ वर्षपछि नेपाल यो स्थितिमा आइपुगेको हो। विश्व क्रिकेट लिगको मुख्य संरचनामा त नेपाल १० वर्षअगाडि मात्र आएको हो। विश्व क्रिकेट लिगको संरचनामा नआई कुनै राष्ट्र माथिल्लो श्रेणीमा पुग्न सक्दैन।

सन् २०१२ मा डिभिजन ४ र २०१३ मा डिभिजन ३ जितेको नेपाल २०१४ को विश्वकप छनोटबाट रेलिगेसन भएपछि डिभिजन ३ मा झरेको थियो। अर्को वर्ष पुन: डिभिजन ३ जितेको नेपालले डिभिजन २ मा अडिएर विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाएको थियो।

च्याम्पियनसिपमा ८ टोलीमा सातौं भएको नेपालले फेब्रुअरीमा पुन: डिभिजन २ खेलेको थियो। फाइनल पुगेर विश्वकप छनोटमा पुगेको नेपालले त्यही आठौं स्थान हात पारेपछि ऐतिहासिक छलाङ मार्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार