सासंद पाललार्इ ज्यान मार्ने धम्की अाएपछी संसदीय सुनुवाइ समिति सदस्यलार्इ पिएसओ

प्रधानमन्त्रीद्‍वारा गोप्य राख्‍न निर्देशन, प्रहरीलार्इ थाहै छैन

काठमाडौं, १७ साउन – सांसद निरुदेवी पालमाथि मंगलबार साँझ ८:१५ बजे दूध लिनका लागि मध्यबानेश्वरस्थित निवासबाट घर बाहिर निस्कएका बेलामा आक्रमण भएको दाबी गरेकी छन्।

सुनुवाइ समितिको बुधबारको बैठकमा सांसद पालले भनिन्, ‘घर बाहिरको सडकमा निस्किएलगत्तै एक व्यक्तिले घाँटीमा अठ्याएर पेस्तोल तेस्रयाएर भोलिको बैठक (संसदीय सुनुवाइ) मा गइस् भने मारिदिन्छु ।’ उक्त व्यक्तिले आफ्नो हातको आइफोनसमेत लुटेर लगेको पालले बताइन्। ‘संसदीय सुनुवाइ समितिमा थप कुरा राखिस् भने तेरो खड्केले पनि नभेट्टाउने गरी लास बेपत्ता गरिदिन्छु भन्दै धम्की दियो,’ पालले भनिन् ।

‘कराइस् भने अहिले नै सिध्याइदिन्छु भन्यो, त्यसपछि त्यो व्यक्ति कता गयो मलाई त्यति होस् भएन, नजिकै तीन-चार जना अरु मानिस पनि थिए, ती कता गए थाहा भएन’, उनले घटनाबारे भनिन्।

घटना लगत्तै सांसद पालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूमाथि भएको घटनाका बारेमा टेलिफोनमार्फत जानकारी गराएको बताएकी छन्। प्रधानमन्त्रीले उक्त घटना सार्वजनिक नगर्न निर्देशन दिए। एक सासंदमाथि आक्रमण हुँदा प्रधानमन्त्रीले किन गोप्य राख्‍न भनियो भन्‍ने खुलेको छैन।

प्रधानमन्त्रीको यस्तो निर्देशनपछि आफूले परिवारका सदस्यलाई पनि त्यो बेला नभनेको उनले बताइन्। बुधबारको संसदीय सुनुवाइ समितिको बैठकलाई जानकारी गराएपछि सो घटना सार्वजनिक भएको हो ।

उक्त घटना भएपछि बुधबार सरकारले संसदीय सुनुवाइ समितिका ७ जना सदस्यलार्इ सुरक्षा व्यवस्थाका लागि प्रहरी सहयाक निरीक्षक तहको प्रही खटाएको छ।

घटनाबारे जानकारी छैन : प्रहरी

प्रहरीले बुधबार बिहानैबाट संसदीय सचिवालयका सात सांसदलाई एक–एकजना पिएसओ खटाएको थियो। सांसद पालको सुरक्षाका लागि पनि प्रहरी प्रधान कार्यालयले एकजना पिएसओ खटाइसकेको छ। तर, पालमाथि भएको धम्कीको सम्बन्धमा भने जानकारी नभएको प्रहरीको भनाइ छ। प्रधान कार्यालयका प्रवक्ता एसएसपी शैलेस थापाले सात पिएसओ परिचालन गरिएको, तर पालमाथि भएको घटनाबारे जानकारी नभएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार