पूर्वप्रधानमन्त्री शरीफ जेलमा, पत्नी कुलसुम भेन्टिलेटरमा !

एजेन्सी — पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ यतिबेला दश वर्षका लागि जेल परेका छन् । उनी आफैं हृदयसम्बन्धी रोगको शिकार बनेका छन् भने यस्तैबेला उनकी पत्नी कुलसुम नवाज पनि क्यान्सरबाट गम्भीर रुपमा थलिएर भेन्टिलेटरमा पुगेकी छिन् ।

केही महिनादेखि नै उपचाररत सरिफपत्नी कुलसुमको स्वास्थ्यमा सामान्य सुधार आएको उनका छोरा हुसेन नवाजले जानकारी दिएका छन् । हुसेनले समाचार एजेन्सीहरुलाई दिएको जानकारीअनुसार लण्डनको हार्ली स्ट्रिट क्लिनिकमा क्यान्सरको उपचार गराइरहेकी कुलसुम अहिले होसमा आएकी छिन् र पनि उनलाई अझै भेन्टिलेटरमा राखिएको छ ।

पाकिस्तानी टेलिभिजन सामाले जनाएअनुसार कुलसुमको स्वास्थ्यमा सामान्य सुधार आएको छ । अहिले उनी इशाराले आफ्ना समस्यालाई बताउन सक्छिन् भने उनलाई लगाइएको भेन्टिलेटर भने हटाइएको छैन ।

हुसेनका अनुसार एक महिनासम्म कोमामा राखेर उपचार भएपछि गत जुलाई १३ देखि उनकी आमाले आँखा खोलेकी हुन् । हुसेनले पाकिस्तानी जनतालाई आमाको नाम सम्झेर प्रार्थना गरिदिन अनुरोध समेत गरेका छन् ।

कुलसुमको उपचारका लागि पूर्व पाकिस्तानी प्रधानमन्त्री शरीफ र छोरीसमेत लण्डनमा रहँदै आएकामा एभेनफिल्ड भ्रष्टाचारसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहरिएपछि बाबुछोरी तोकिएको सजाय व्यतित गर्न केही दिन पहिले पाकिस्तान आएका थिए । पाकिस्तानी विशेष अदालतले गत जुलाई ६ मा शरीफ र छोरी मार्याम दुवैलाई भ्रष्टाचार मुद्दामा जेल सजाय तथा जरिवानाको फैसला सुनाएको थियो । जसअनुसार पूर्व प्रधानमन्त्री शरीफले १० बर्ष जेल र ८० लाख पोण्डस्टर्लिङ जरिवाना तथा मार्यामले ८ बर्ष जेल र २० लाख पोण्डस्टर्लिङ जरिवाना तिर्नुपर्नेछ ।

उनीहरु दुवैजना गत जुलाई १३ मा पाकिस्तानी शहर लाहोरमा आइपुगेपछि पक्राउ पर्नुभएको थियो । अहिले उहाँहरूलाई रावलपिण्डीस्थित अडियाला जेलमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार