https://www.saurabhgroup.com/

नेपाली सेनाका कायम-मुकायम प्रधानसेनापतिमा पूर्णचन्द्र थापा सिफारिस

काठमाडौं, २३ साउन – नेपाली सेनाका कायम-मुकायम प्रधानसेनापतिमा पूर्णचन्द्र थापा सिफारिस भएका छन् ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले वरीयता क्रमअनुसार थापालाई जिम्मेवारी दिन सिफारिस गरेको हो । प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने संविधानमा व्यवस्था छ ।

प्रधानसेनापति राजेन्द्र क्षेत्री तीन वर्षे सेवाअवधिबाट आगामी भाद्र २४ गते अवकाश पाउँदैछन् । अवकाशको एक महिना पूर्व नै नियमित घर बिदामा बस्ने सैनिक परम्पराअनुसार क्षेत्री बिहीबारबाट घरबिदामा बस्दै छन् । भाद्र २४ गतेबाट प्रधानसेनापतिको पूर्ण कमाण्ड सम्हाल्नेछन् ।

नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरिएका थापा नेपाली सेनाभित्रका अब्बल सैनिक अधिकारीका रूपमा चिनिन्छन् । अत्यन्तै अनुशासित, भद्र, अध्ययनशील र अनुभवी जर्नेलका रुचिपमा पारित उनलाई यसअघि नै नेपाली सेनाको भावी नेतृत्वका रूपमा हेरिएको थियो ।

नेपाली सेनामा उनको करियर ग्राफ र ट्रयाक रेकर्ड अत्यन्तै कुशल सैनिक अधिकृतका रूपमा रहेकाले पनि उनी भावी प्रधानसेनापतिको दौडमा सम्भावित एक्ला दाबेदारजस्तै थिए । कामु प्रधानसेनापति थापा सैनिक करियरमा जति अब्बल र कुशल कहलिएका छन्, वास्तविक जीवनमा उत्तिकै सरल, मिजासिलो र तार्किक मानिन्छन् ।

अधिकृतहरूको वृत्ति विकासमा काम गर्ने सैनिक सचिव विभाग, नेपाली सेनाका भुुपु तथा बहालवाला सैनिकहरूको हित र कल्याणका लागि काम गर्ने सैनिक कल्याणकारी कोष, कार्यरथी विभाग, प्रबन्ध तथा सम्भार रथीको कार्यालय, शान्ति सेना सञ्चालन निर्देशनालय, बाहिनी, पृतना, बलाध्यक्षको कार्यालय, बलाधिकृतको कार्यालयलगायतका नेपाली सेनाभित्रका सबै जसो महत्त्वपूर्ण र गहन जिम्मेवारी बोकेका कार्यालय तथा विभागहरूको नेतृत्व उनले कुशलतापूर्वक सम्हालेका थिए ।

अधिकांश सैनिक अधिकृतहरूले सैनिक मुख्यालय अन्तर्गतका ती कार्यालय तथा विभागहरूमध्ये एक वा दुईको मात्र नेतृत्व गर्ने अवसर पाउने गरेका छन् । यस सन्दर्भमा सबै कार्यालय र विभागको नेतृत्व गरेर अनुभव हासिल गर्ने अवसर पाएका थापालाई भाग्यमानी सैनिक अधिकृतका रूपमा पनि हेर्ने गरिन्छ ।

नेपाली सेनाको नेतृत्वमा थापा आएसँगै सेनाका अन्य निकाय तथा विभागहरूलाई पारदर्शी बनाउने, सैनिक ठेक्कापट्टामा हुने विवाद, सैनिक अस्पतालमा हुने घोटाला, कल्याणकारी रकमको दुरुपयोगलगायतमा आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ ।

को हुन् पूर्णचन्द्र थापा ?

का.मु प्रधानसेनापति पूर्णचन्द्र थापाको जन्म वि.सं २०१७ साल भाद्र २५ गते गाउँ सहर–८, लम्जुङमा सामान्य परिवारमा भएको थियाे । सेनाको जागिर थापाको पुस्ताको गरिमासँग जोडिएको छ । उनका हजुरबुवा र बुबा दुवै जना नेपाली सेनामा कार्यरत थिए । उनी बुवा प्रमुख सेनानी फणेन्द्रबहादुर थापा अप्रा र आमा सावित्री थापाको कान्छा छोरा हुन् ।

थापा पनि पारिवारिक विरासत पछ्याउंर्दै २०३६ सालमा अधिकृत क्याडेटका रूपमा नेपाली सेनामा भर्ना भएका थिए । २०३७ साल मङ्सिर २७ मा उनी गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भए ।

३६ वर्ष लामो सैनिक सेवाको दौरान थापाले विभिन्न तहमा विविध कमाण्ड तथा स्टाफ नियुक्तिहरू सम्हाल्नुका साथै देश तथा विदेशमा थुप्रै तालिम, सेमिनार एवं अभ्यासहरूमा सहभागी अनुभव संगाल्ने अवसर पाएका छन् । उनले सेनानी दर्जामा अनाश्रित गुल्म श्री श्रीजंग गुल्मको कमाण्ड गर्नुको साथै जंगी अड्डामा स्टाफ अधिकृत र सैनिक शिक्षालयमा शिक्षक तथा डाईरेक्टिङ्ग स्टाफको जिम्मेवारी समेत सम्हालेका छन् ।

सहायक रथीमा नं २ बाहिनी अड्डाको कमाण्ड सफलतापूर्वक सम्पन्न गरेपश्चात, उनले जंगी अड्डामा सैनिक सचिव तथा कल्याणकारी योजना निर्देशकजस्ता महत्त्वपूर्ण जिम्मेवारीमा रहेर काम गरे ।

वि.सं २०६९ साल जेष्ठ ०२ गते उपरथी दर्जामा पदोन्नति भएका थापा कार्यरथी विभागमा नियुक्त भएका थिए । तत्पश्चात उनले उपत्यका पृतनाको कमाण्ड सम्हाले भने त्यसपछि जंगी अड्डा स्थित सम्भार रथी विभागमा समेत काम गरे ।

संयुक्त राष्ट्रसंघमा पटक—पटक गरी विभिन्न नियुक्तिमा सेवा गर्दै विविध अनुभव सम्हाल्ने अवसर पनि उनले पाएका छन् । सन् १९८६ मा उनले लेवनानस्थित संयुक्त राष्ट्रसंघको युनिफिल मिसनमा सेमुपति र सोही मिसनमा १९८९ मा अपरेशन डिउटी अधिकृतको जिम्मेवारीमा रहेर काम गरे । थापाले सैनिक परिवेक्षकको रूपमा सन् १९९४ मा पूर्व युगोस्लाभाकियास्थित युएनपीआर ओएफओआरमा कार्य गरेका थिए । त्यस्तै संयुक्त राष्ट्रसंघको नेपाल स्थित अनमिन मिसन रहँदा त्यस अन्तर्गतको संयुक्त सुपरिवेक्षक समन्वय समिति ९जेएमसीसी०मा नेपाल सरकार तथा नेपाली सेनाको प्रतिनिधित्व गर्दै सह–अध्यक्षको भूमिका निर्वाह गरे ।

थापा वि.सं. २०७१ साल माघ २५ गतेदेखि २०७२ माघ २४ सम्म संयुक्त राष्ट्रसंघको मध्यपूर्व स्थित इजरायल तथा सिरियाको सिमाना स्थित गोलान हाइटमा संयुक्त राष्ट्रसंघको विच्छेदन पर्यवेक्षक दल ९युएनडिओएफ०को हेड अफ द मिसन तथा फोर्स कमाण्डरजस्तो महत्त्वपूर्ण जिम्मेवारीमा नियुक्त भएका थिए ।

कामु प्रधान सेनापति थापाले स्वदेशमा गर्नुपर्ने विभिन्न तालिमका साथै भारतबाट बटालियन सपोर्ट वेपन, योङ अफिसर कोर्स ९अफिसर इन्फेन्ट्रीरसेक्युरिटी कोर्स० र नेशनल डिफेन्स कोर्स पूरा गरेका छन् । यस्तै, उनले संयुक्त राज्य अमेरिकाबाट इन्फेन्ट्री अफिसर्स एडभान्स कोर्स र एक्जुकिटीभ कोर्स गरेका छन् । उनले नेपालमै कमाण्ड एण्ड स्टाफ कलेज गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार