साढे ३३ किलो सुन तस्करी, फाइल खोल्दै अपराध महाशाखा

काठमाडौं, २५ साउन – विमानस्थलबाट गायब भएको साढे ३३ किलो तस्करीको सुन र सनम हत्या प्रकरणको फाइल महानगरीय अपराध अनुसन्धान महाशाखाले खोलेको छ । काँडाघारीका बालक निशान खड्काको अपहरणपछि हत्या गरेका सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङको भक्तपुरको सूर्यविनायक–८ मा इन्काउन्टर गरेको महाशाखाले हराएको सुनको खोजीका लागि त्यसमा संलग्नहरूमाथि अनुसन्धान थालेको हो ।

‘हराएको सुनको खोजी र यस प्रकरणमा जोडिएका व्यक्तिहरूको बारेमा अनुसन्धान थालेका छौं, अनुसन्धानलाई परिणाममुखी बनाउने योजनामा छौं,’ महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले राजधानीसँग भने, ‘गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयको निर्देशनका आधारमा यस प्रकरणको फाइल खोलेका हौं । केही प्राविधिक काम सकिएपछि टोली सक्रियताका साथ यस विषयमा केन्द्रित भएर अघि बढ्छ ।’

सनम शाक्यको हत्यापछि गठन भएको गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलेको विशेष छानबिन समितिले प्रतिवेदन तयार पारी प्रधानमन्त्रीलाई बुझाइसकेको छ । ‘सरकारले पाएको प्रतिवेदनको पनि अध्ययन हुनेछ, सुन कहाँ कसले गायब बनायो भन्ने विषयमा पनि गम्भीरताका साथ अनुसन्धान हुनेछ,’ महाशाखाका एक अधिकारीले भने, ‘सरकारले घटनालाई यत्तिकै सेलाउन नदिने रणनीति अख्तियार गरेको आधारमा नै महाशाखाले फाइल पल्टाएको हो ।’

यस प्रकरणमा पक्राउ गरेका करिब ७० जनासँगको बयानका आधारमा पौडेल नेतृत्वको छानबिन समितिले प्रतिवेदन तयार पारेको थियो । तर सुन लुटिएको स्थान, लुट्ने गिरोहबारे भने छानबिन समितिले गहिरो अध्ययन गर्न सकेको थिएन । ‘महाशाखाले विगतमा पनि १२÷१५ वर्षभन्दा पुराना मुद्दामा नतिजा निस्कने गरी काम गरेको छ, सुन तस्करीका विषयमा पनि एउटा नतिजा निस्कियोस् भन्ने सर्वसाधारणले चाहेका छन् । सरकार पनि यसलाई परिणाम दिन चाहान्छ । त्यसैले, अनुसन्धानका लागि विशेष तयारी भइसकेको छ,’ महाशाखा स्रोतले भन्यो ।

छानबिन समितिलाई दिएको बयानमा हत्या गरिएका सुन तस्करीका भरिया शाक्यकी प्रेमिका निशा सेन ठकुरीले सुन लुट्नका लागि रोशन श्रेष्ठ, सन्तोष श्रेष्ठलगायतको योजना रहेको बयान दिएकी थिइन् । महाशाखाले सो बयानलाई अनुसन्धानको आधार बनाएर सुन खोज्ने र लुटेरा समूहलाई कानुनी दायरामा ल्याउने तयारी थालेको हो । ‘यस प्रकरणमा देखिएका पाटा र खुलेका तथ्यबाहेक गुमनाम रहेका, सार्वजनिक हुन नसकेका, फरार सूचीमा रहेका अभियुक्तहरूको पक्राउलगायतबाट काम सुरु हुन्छ,’ स्रोतले भन्यो, ‘महाशाखाको उद्देश्य परिणाम आउनेगरी काम गर्ने हो ।’

सुन तस्करी र शाक्य हत्याका मुख्य अभियुक्त भनिने चूडामणि उप्रेती गोरे, तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्री, तत्कालीन अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, प्रहरी नायब उपरीक्षक प्रजित केसी, प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेललगायत पुर्पक्षका लागि थुनामा रहेका छन् ।

राप्रपा नेता भुजुङ गुरुङ, व्यापारी बिमल पोद्दारलगायतलाई पनि छानबिन समितिले पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको थियो । तीबाहेक घटनामा भएका उपलब्धिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइसकिएको छ । – राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार