भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको निधन

बाजपेयीको निधनप्रति प्रधानमन्त्री ओली र सभापति देउवाको शोक सन्देश

काठमाडौँ, १ भदौ  –  भारत पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको  निधन भएको छ । सन् १९२४ डिसेम्बर २५ तारिखमा जन्मिएका उनको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएपछि श्रद्धाञ्जली दिन अस्पताल परिसरमा विशिष्ठ ब्यक्तिहरुको भिड लागेको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ९३ वर्षको उमेरमा निधन भएको हो ।

तीन पटक प्रधानमन्त्री बनेका उनी पछिल्लो पटक दुई महिनादेखि एम्समा उपचाररत थिए, उनी ९ वर्षदेखि बिरामी थिए । उनलाई पिशाव नलीमा संक्रमण भएपछि ११ जुनमा एम्समा भर्ना गरिएको थियो ।

पछिल्लो पटक उनको केबल एउटा मात्रै मृगौलाले काम गरिरहेको थियो । ३० वर्षदेखि निजी चिकित्सक रहेका डा. रणदीप गुलेरियाको रेखदेखमा एम्समा उनको उपचार भइरहेको थियो ।

बुधवार राति एम्सले मेडिकल बुलेटिन निकाल्दै अटलको स्वास्थ्य पछिल्लो २४ घण्टामा धेरै बिग्रिएको जनाएको थियो । त्यसपछि उनलाई ‘लाइफ सपोर्ट सिस्टम’ मा राखिएको थियो । बिहीबार बिहान जारी बुलेटिनमाएम्सले अटलको स्थितिमा कुनै सुधार नभएको जनाएको थियो ।

अटल बिहारी वाजपेयी देशको सक्रिय राजनीतिमा पाँच दशक भन्दा धेरै समय सक्रिय रहे । उनी देशको पहिलो गैरकांग्रेसी प्रधानमन्त्री थिए । उनले आफ्नो पहिलो लोकसभा चुनाव १९५२ मा लडेका थिए । तर उनले जित भने १९५७ मा निकाले । त्यो बेलादेखि सन् २००९ सम्म उनी लगातार संसदीय राजनीतिमा सक्रिय रहे । सन् १९७७ मा उनी पहिलो पटक मन्त्री भए । त्यसपछी सन् १९९६ मा उनी १३ दिनका लागि प्रधानमन्त्री बने ।

सन् १९९८ मा फेरि उनलाई प्रम बन्ने मौका मिल्यो । त्यो बेला उनको सरकार केबल १३ महिना टिक्यो । त्यसपछी भएको लोकसभा चुनावमाएनडीए गठबन्धनको बहुमत सरकार बन्यो र वाजपेयीले प्रमका रुपमा आफ्नो कार्यकाल पूरा गरे । उनी सन् १९९१, १९९६, १९९८, १९९९ र २००४ मा लखनउबाट लगातार लोकसभा सदस्यमा निर्वाचित भएका थिए ।

बाजपेयीको निधनप्रति प्रधानमन्त्री ओली र सभापति देउवाको शोक सन्देश

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधनप्रति नेपाली शिर्ष नेताले दुख व्यक्त गर्दै समवेदना सन्देश पठाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बाजपेयीको असामयिक निधन भएकोमा समवेदना व्यक्त गरेका छन्। नेपाल सरकार र नेपाली जनताकातर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहीबार साँझ शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयी निष्ठावान, दूरदृष्टियुक्त र देशप्रति समर्पित राजनेता भएको जनाएका छन्।

सन्देशमा प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयीले भारतका जनताको निःस्वार्थ भावले गरेको उदाहरणीय सेवा र दूरदर्शिताको सधै स्मरण भइरहने उल्लेख गरेका छन्। पूर्व प्रधानमन्त्री बाजपेयीको निधनले भारत र विश्वले नै एक उच्च राजनीतिक व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै प्रधानमन्त्रीले शोक सन्देशमा भनेका छन्, ‘उहाँ नेपालको शुभचिन्तक र वास्तविक मित्र हुनुहुन्थ्यो।’

प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्धलाई सुदृढ तुल्याउन स्वर्गीय बाजपेयीले गरेको योगदानको स्मरण रहेको उल्ल्ख गरेका छन्। स्वर्गीय बाजपेयीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकाकूल परिवारजनमा सहनुभूति एवं समवेदना प्रकट गरेका छन्।

असिम शोकको यो घडीमा भारत सरकार र त्यहाँका जनताका साथमा नेपाल सरकार रहेको प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षीलाई पठाएको सन्देशमा उल्लेख छ ।

त्यसैगरी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय जनता पार्टीका संस्थापक नेता एवं नेपालका अनन्य शुभचिन्तक पूर्वप्रधानमन्त्री बाजपेयीको बिहिबार साँझ भएको निधनको खबरबाट आफू र आफ्नो पार्टी नेपाली काङ्ग्रेसलाई स्तब्ध बनाएको उल्लेख गरेका छन्।

सभापति देउवाले बिहीबार साँझै एक शोक सन्देश जारी गरी स्वर्गीय बाजपेयी नेपाल र नेपाली जनताका एक परम मित्र र नेपालप्रति सधैँ शुभेच्छा राख्ने राजनेता भएको भन्दै सन्देशमा आधुनिक भारतको निर्माणमा विकासको नयाँ बाटो देखाउन स्वर्गीय बाजपेयीको ठूलो योगदान रहेको उल्लेख गरेका छन्। बाजपेयीको निधनले दक्षिण एशियाकै लोकतन्त्रवादी व्यक्तित्व गुमेको अनुभव आफूलाई भएको देउवाले जनाएका छन्।

स्वर्गीय अटल बिहारी बाजपेयीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना पनि देउवाले गरेका छन्। साथै सभापति देउवाले शोकको यस घडीमा भारत सरकार, भारतीय जनता तथा स्वर्गीय बाजपेयीका समस्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार