ससेज बनाउन यसरी प्रयोग गरिन्छ कुहिएको मासु

पोखरा, ८ भदौ – नयाँ पुस्तामा मात्र होइन, पोखराका हरेक उमेर समूहमा ससेजको मोह देखिन्छ । अधिकांश पोखरेलीले खाजामा ससेजको प्रयोग गर्छन् ।

तर, अधिकांशको रोजाइमा रहेको ससेज निर्माणमा गुणस्तरहीन दुर्गन्धित मासुको प्रयोग गरेर यहाँका उद्योगहरूले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेका छन् ।  केही ससेज उद्योगले कुहिएको मासु प्रयोग गर्दै ससेज बनाएर बजारमा लैजाने गरेको खुलेको छ । जिल्ला अनुगमन समिति कास्कीले मंगलबार, बुधबार र बिहीबार गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो ।

दुर्गन्धित मासुको प्रयोग गरेर ससेज बनाउनेमा पोखरामा नाम चलेका उद्योगसमेत छन् । उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले अनुगमनका क्रममा ससेज बनाउन प्रयोग हुने २८ सय केजी त्यस्तो दुर्गन्धित मासु फेला परेको र जफत गरेर नष्ट गरिएको जानकारी दिए । उनका अनुसार भैँसी र कुखुराको मासु जफत गरेर नष्ट गरिएको हो ।

ससेज पसल सञ्चालन गर्दा अनुज्ञापत्र लिएर मात्र कारोबार गर्नुपर्छ । तर, विगत ७ वर्षदेखि सञ्चालनमा रहेका २ वटा त्यस्ता उद्योगले अनुज्ञापत्र नलिई कारोबार गरेको पाइएको छ ।

मिचेल र फेमिली मिट प्रडक्टले अनुज्ञापत्र नलिई ससेज उत्पादन गरेर बिक्री गरेको पाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । – नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार