‘सरकारले नै दोषी जोगाउन खोज्यो’- कांग्रेस सभापति देउवा

काठमाडौँ, ११ भदौ – कांग्रेस सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी किशोरीको बलात्कारपछि हत्या घटनामा सरकारले नै दोषी जोगाउन खोजेको आरोप लगाएका छन् । राज्य नै अपराधी बचाउन लाग्ने हो न्याय माग्न कहाँ जाने भन्ने प्रश्न उनले गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै देउवाले निर्दोष नागरिकलाई दोषी किटानी गरेर सरकारले कारबाही प्रक्रिया अघि बढाएको विषय अपराधको पराकाष्ठा नै भएको टिप्पणी गरे ।

कञ्चनपुर घटनाको अनुसन्धान प्रक्रियामा ढिलाइ भएको उनको भनाइ छ । ‘कञ्चनपुर घटनामा राज्य नै दोषीलाई जोगाउन लागेको देखियो । हामी कस्तो राज्य बनाउन गइरहेका छौं ? अपराधमा सामेललाई जोगाउन गरिएको प्रयत्न पनि अपराध हो,’ देउवाले भने, ‘निर्दोष नागरिकलाई दोषी किटानी गरेर कारबाही अघि बढाएको विषय अपराधको पराकाष्ठा नै हो । म आग्रह गर्न चाहन्छु सरकार गम्भीर बनोस् ।’

उनले दोषीलाई जोगाउन खोज्दा नागरिकमा आक्रोश बढ्नु स्वाभाविक भएको बताए । राज्यले संयमता अपनाउन नसक्दा प्रहरीको गोलीबाट अर्का किशोर सन्नी खुनाको मृत्यु भएको उनले बताए । एउटी बालिकालाई न्याय माग्दा अर्को बालकले मारिनुपर्ने गलत लोकतन्त्रको अभ्यास भएको उनले बताए ।

मुलुकमा बलात्कार घटना बढिरहेको उल्लेख गर्दै उनले राजनीतिक आग्रहभन्दा माथि उठेर छोरीचेलीको मर्यादा, सुरक्षा र सम्मान गर्न गम्भीर हुनुपर्ने बताए । देउवाले कञ्चनपुरमा जस्तै देशका अन्य भागमा समेत बलात्कारका घटना बढिरहेको बताए । ‘यस्ता घटना किन बढिरहेका छन्, यसलाई कसरी समाप्त गर्न सकिन्छ ?’ उनले भने ।

‘दोहोरो चरित्रको मारमा न्यायालय’

सभापति देउवाले प्रधानमन्त्री केपी ओलीको दोहोरो चरित्रको मारमा न्यायालय परेको आरोप पनि लगाए । संवैधानिक परिषद्मा ओलीले प्रधानन्यायाधीशको नाम प्रस्ताव गरेर सुनुवाइ समितिबाट अस्वीकृत गर्न लगाएको उनको भनाइ थियो ।

‘प्रधानमन्त्रीज्यूको दाहोरो चरित्रको मारमा न्यायालय परेको छ । कार्यपालिका र व्यवस्थापिकाको लाचार छाया न्यायालयलाई बनाउने प्रवृत्तिले परम्पराको रूप लिनुहुन्न भनेर मैले गम्भीर विमति राखें,’ उनले भने, ‘न्यायालयलाई नेतृत्वविहीन हुन नदिन हालै पुन: अर्को सर्वसम्मत सिफारिस परिषद्बाट गरेका छौं । सुनुवाइ समितिबाट चाँडै यसलाई टुंगोमा पुर्‍याइयोस् ।’

संवैधानिक परिषद्ले दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरे पनि सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । परिषदको बिहीबार बसेको बैठकले फेरि प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई प्रस्ताव गरेको छ । सुनुवाइ समितिको आइतबारको बैठकले मिश्रविरुद्ध उजुरी गर्ने समय भदौ २० सम्मलाई तोकेको छ ।

बजार मूल्यमा भएको चर्को वृद्धिको मार नागरिकले भोगिरहेका बेला स्थानीय तहले गरेको अचाक्ली कर वृद्धिले नागरिक मारमा परेको देउवाले बताए । कर तिर्नु जिम्मेवार नागरिकको दायित्व भए पनि न्यायोचित ढंगले निधारित हुनुपर्ने उनले बताए ।

‘कर तिरेअनुरूपको सुविधा नागरिकले पाइरहेका छन् कि छैनन् भन्ने व्यावहारिक पक्ष बिर्सन मिल्दैन,’ देउवाले भने, ‘यस विषयमा तत्कालै अध्ययन गरी न्यायोचितलाई कायम राख्ने र अचाक्ली करलाई फिर्ता लिई नागरिक जीवन सहज बनाउन आवश्यक समन्वयका लागि म सरकारलाई आग्रह गर्न चाहन्छु ।’

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गर्न ढिलाइ हुँदा अराजकता बढेको देउवाको आरोप छ । भदौ १ देखि लागू भएको मुलुकी फौजदारी/देवानी संहितामा देखिएका कमजोरीलाई संशोधन गरेर मात्रै लागू गर्न उनले आग्रह गरे ।

प्रेस स्वतन्त्रतामा असर पुग्ने, चिकित्सकको मर्यादामा आँच पुग्ने र प्रहरी अनुसन्धानलाई असर पुर्‍याउन सक्ने प्रावधान संशोधनका लागि आवश्यक प्रक्रिया अघि बढाउन पनि देउवाले सरकारलाई आग्रह गरे ।- कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार