काठमाडौं, १३ भदौ — सागर पुनको उकृष्ट ब्याटिङसँगै नेपालले एसिया कप छनोटमा ओमानलाई २२२ रनको लक्ष्य दिएको छ । ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनायो ।
आठ महिनापछि राष्ट्रिय क्रिकेट टिममा फर्केका सागर पुनले आकर्षक प्रदर्शन गरेका हुन् । मलेसियामा सुरु भएको एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा ओमानविरुद्ध सागरले ८३ रनको शानदार योगफल जोडेका छन् ।
८० रन जोड्दा नेपालले ४ विकेट गुमाइसकेको अवस्थामा दबाबमा ब्याटिङ गरेका सागरले सशक्त खेले । उनले ८४ बलको मात्र सामना गरेका थिए । २ छक्ब्का र ६ चौका पनि हाने सागरले । मलेसियन प्रिमियर लिगमा गतिलो खेलेपछि सागरले राष्ट्रिय टिममा ठाउँ बनाएका हुन् ।
पाँचौं विकेटका लागि ९२ रनको साझेदारी गर्ने क्रममा आरिफ शेखले ३६ रन जोडेपछि नेपाल सुध्रियो । क्वालालम्पुरमा जारी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ९ विकेटको नोक्सानीमा २२१ रन बनायो ।
सुवास खकुरेललाई ४ रनमा गुमाएपछि दवाव सुरु भएको नेपालका लागि कप्तान पारस खड्का सस्तैमा आउट भए । पारसले २४ बल खेलेर ८ रनमै आउट भएका हुन् । ओपनर उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धसतक बनाउन चुके । ज्ञानेन्द्रले ६० बल खेलेर ४५ रन जोडे । ज्ञानेन्द्रले १ छक्का पनि ठोके ।
दिपेन्द्र सिंह ऐरी ९ रनमा आउट भए । सोमपाल कामीले ५ रन बनाउँदा रोहितकुमार पौडेलले खाता खोलेनन् । करण केसीले जादूमयी ब्याटिङ गरे । उनले १० बलमा नटआउट २६ रन बनाए । पाँच महिनाअघि जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको नेपाल श्रीलंकामा तीन अभ्यास खेल खेलेर सोमबार मलेसिया पुगेको थियो ।
श्रीलंकामा नेपालले तीनै अभ्यास खेलमा विजयी नतिजा निकालेको थियो । प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया, ओमान, हङकङ, सिंगापुर र युनाइटेड अरब इमिरेट्स युएई छन् । प्रतियोगितामा लिगको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । विजेता टोलीले सेप्टेम्बर १५ बाट युएईमा हुने एसिया कपमा स्थान बनाउनेछ । छनोट हुने टोलीले एसिया कपको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले आफ्ना खेलाडीहरू भारत र पाकिस्तानविरुद्ध खेल्न आतुर भएको बताएका छन् । नेपालले लिग चरणमा बिहिबार युएईविरुद्ध, शनिबार आयोजक मलेसिया, आइतबार सिंगापुरविरुद्ध र अन्तिम खेल आगामी मंगलबार हङकङविरुद्ध खेल्नेछ।