काठमाडौं, १४ भदौ – बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेताहरूले लबिङ गरेका छन् ।
मोदीसँग भेट्न पाए राजनीतिक छलफलबाट नयाँ राजनीतिक एजेण्डा बनाउन पार्टीलाई सहज हुने पार्टीका नेताहरूको बुझाइ छ । पार्टीका नेताहरूलाई बुधबार र बिहीबार हुने रिसेप्सन पार्टीमा निम्तो गरिएको छ ।
मोदीसहितको रिसेप्सन पार्टीमा मोदीसँग विशेष कुराकानी गर्ने योजना अध्यक्ष मण्डलका नेताहरूले बनाएको पार्टीका एक नेताले बताए । मोदीसँग अध्यक्ष मण्डलका शीर्ष नेताहरूको सामूहिक भेट हुने वा केही अध्यक्ष विशेषसँग भेट हुने यसबारे निर्णय भइनसकेको स्रोतले जनाएको छ । – कारोबार दैनिक