भाद्र १५, काठमाडौं – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौंथो शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ । राजधानीको एक होटलमा सुरु सम्मेलनको अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको छ ।
पहिलो दिन उद्घाटन सत्रमा आवद्ध सवै सदस्य राष्ट्रका कार्यकारी प्रमुखले सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा बिमस्टेकलाई थप बलियो बनाउदै यसलाई प्रभावकारी बनाउन सके आवद्ध सात वटै मुलुकले फाइदा लिन सक्ने धारणा राखेका थिए । सम्मेलन आज काठमाडौं घोषणा पत्र जारी गर्दै सकिनेछ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओच, म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका प्रधानमन्त्री मैत्रीपाला सिरिसेना र भुटानका मन्त्रिपरिषद् अध्यक्ष छिरिङ वाङचुकले सम्बोधन गर्नुभएको थियो ।
सदस्य राष्ट्रबीच स्थल र जलमार्गको कनेक्टिभिटिका लागी गुरु योजना, क्षेत्रीयस्तरमा प्रतिआतंकवादका साझा रणनीति पहिल्याई कार्यान्वयन गर्ने, बिमस्टेकको बडापत्र बनाउने र संयुक्त लगानी कोष स्थापना गर्ने, भन्सारसम्बन्धी आपसी सहायता तथा सहकार्य सम्मेलनको मुख्य एजेण्डा रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
बिमस्टेक आवद्ध मुलुकको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार शिखर सम्मेलनमा बिमस्टेक ग्रिड ईन्टरकनेक्सनको समझदारी पत्र एमओयूमा सातै देशले आज हस्ताक्षर गर्नेछन् ।
सम्मेलनमा पेश हुने सबै सम्झौताको मस्यौदालाई मन्त्रीस्तरीय बैठकले हिजै अन्तिम रुप दिईसकेको छ । परराष्ट्र मन्त्रालयले यसअघि आज बिहान ११ बजे हस्ताक्षर गर्ने तालिका सार्वजनिक गरेपनि बंगलादेशी प्रधानमन्त्री ११ बजे नै स्वदेश फर्कने भएकाले समय केही हेरफेर हुन सक्ने सम्भावना रहेको मन्त्रालय स्रोतको भनाई छ ।
श्रीलंकाका राष्ट्रपति सिरिसेना बाहेक सबै विशिष्ट पाहुना आज फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ । एक दिन अतिरिक्त बस्ने सिरिसेनाले शनिबार लुम्बिनी भ्रमण गर्नुहुनेछ ।
यसैबीच, विमस्टेक सम्मेलनको रिट्रिट सरकारले प्राविधिक कारण देखाउदै सम्मेलनस्थल होटल सोल्टीमै गर्ने भएको छ । सडक, वर्षा र सुरक्षा लगायतका विविध कारण देखाउदै सरकारले सोल्टीमै रिट्रिट आयोजना गर्न लागेको हो । – कान्तिपुर दैनिक