
यसअघि हेलिकोप्टरमार्फत लुम्बिनी जाने तयारी भए पनि उनी भैरहवाबाट गाडीमै जाने भएका छन्। राष्ट्रपति सिरिसेनालाई लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ का प्रमुख उमाकान्त झा र मुख्यमन्त्री शंकर पोखरेलले स्वागत गर्ने कार्यक्रम छ।
उनले मायादेवी मन्दिरमा आफ्नो परम्परा अनुसार पूजा अर्चना गर्ने कार्यक्रम छ। मायादेवी मन्दिर पछि लुम्बनीमै रहेको श्रीलंकाद्वारा निर्मित श्रीलंकन गुम्बामा जाने छन्। श्रीलंकाद्वारा बनाइएकाे त्रिग्रिम गेस्टहाउका बारेमा जानकारी लिने कार्यक्रम छ। लुम्बिनी विकास कोषले सिरिसेनालाई लुम्बिनीको गुरुयोजना बारे जानकारी गराइने कार्यक्रम रहेको कोषका योजना प्रमुख सरोजकुमार भट्टराईले बताए।
विमस्टेक सम्मेलनमा भाग लिन आएका सिरिसेना लुम्बिनी आउने भएपछि लुम्बिनी र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाका लागि सुरक्षा निकायका ४ वटै अंग परिचालन भएका छन्। बिहान साढे ८ बजेदेखि नै भैरहवा–लुम्बिनी सडक खण्डमा सर्वसाधरणलाई निषेध गरिएको छ।
सुरक्षाका लागि लुम्बिनीमा सर्वसाधारण तथा अन्य पर्यटकलाई निषेध गरिएको छ। लुम्बिनीस्थित मायादेवी मन्दिर राष्ट्रिय झण्डा र बौद्ध पतकाले झकिझकाउ पारिएको छ। राष्ट्रपति सिरिसेना आजै काठमाडौं फर्कनेछन्। – कान्तिपुर दैनिक