आज कृष्णजन्माष्टमी ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्मोत्सव, पाटनको कृष्ण मन्दिरमा विशेष मेला

भाद्र १७, काठमाडौं – भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ आइतबार देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् यसै मध्यरातमा भएकाले यो दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

आज कृष्णजन्माष्टमी भएकोले पाटनको मंगलबजारमा रहेको कृष्ण मन्दिर लगायत देशभर रहेको कृष्ण मन्दिरहरुमा विशेष मेला लाग्ने गर्दछ । अपरान्ह राष्ट्रप्रमुख पाटनको कृष्ण मन्दिर परिसरमा गएर प्रसाद ग्रहण गर्ने परंपरा छ । हिन्दु धर्मका ४ कालरात्रीहरुमध्ये आजको कालरात्रीलाई मोहरात्री भनिन्छ । अन्य रात्रीहरुमा कालरात्री, सुखरात्री र शिवरात्री पर्दछ ।

यस अवसरमा देशभरीका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने गर्छन् । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वासुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

भगवान् विष्णुको अवतारको रुपमा वासुदेव र देवकीको कोखबाट जन्मिएका श्रीकृष्णले अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गरेको धार्मिक कथन छ ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । यो हिन्दूहरूको पवित्र धर्मग्रन्थ हो । यो ग्रन्थ धेरै भाषामा अनुवाद भइसकेको छ ।बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए ।

यसै उपलक्ष्यमा देशभर विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने चलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार