विदेशमा रहेकालाई मताधिकार सम्भव : निर्वाचन आयोग

काठमाडौँ, १९ भदौ –  निर्वाचन आयोगले आवश्यक कानुन र स्रोतको व्यवस्थापन भए विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिन सकिने जनाएको छ ।

‘विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने पक्षमा आयोग रहँदै आएको छ,’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘त्यसका लागि धेरै प्रक्रिया र तयारी गर्नुपर्ने भए पनि असम्भव विषय होइन ।’ उनले सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश दिएकाले सरकारबाट हुने निर्णयअनुसार आयोगले अग्रसरता लिने बताए ।

सर्वोच्चले आइतबार विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको थियो ।प्रमुख आयुक्त यादवले यसअघिकै कानुनमा त्यस सम्बन्धमा व्यवस्था गर्न आयोगले सरकारलाई प्रस्ताव गरेको बताए । आयोगको प्रस्तावलाई सरकारले झिकेको थियो ।

हालसम्म विदेशमा रहेकाको मतदाता नामावली संकलन, मतदान केन्द्र निर्धारण र मतदानको मोडललगायत विषयमा कुनै पनि कानुनी व्यवस्था छैन । सर्वोच्चले त्यससम्बन्धी कानुनी व्यवस्था गर्नसमेत आदेश गरेको छ । ४० लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारमा रहेकाले उनीहरूलाई मतदान अधिकार दिइनुपर्ने भन्दै सर्वोच्चमा रिट परेको थियो ।

आयोगले नेपाली धेरै रहेका साउदी, कतार, दुबई, बहराइन, ओमानलगायत देशमा टोली पठाएर अध्ययन गर्दा मताधिकारको वातावरण मिलाउन सकिने देखाएको थियो ।

सर्वोच्चमा पठाएको जवाफमा समेत आयोगले आवश्यक कानुन र आर्थिक स्रोतको व्यवस्था सरकारबाट भए आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मताधिकार दिन सकिने उल्लेख गरेको छ । आयोगमा कानुनी विषयसमेत हेर्ने आयुक्त ईश्वरीप्रसाद पौडेलले अहिलेदेखि तयारी थालियो भने चार वर्षपछि हुने आमनिर्वाचनमा विदेशमा रहेकालाई मतदान अधिकार दिन सम्भव हुने बताए ।

‘आगामी निर्वाचनका लागि चार वर्षको समय छ,’ उनले भने, ‘सर्वोच्चको आदेशअनुसार आवश्यक अध्ययन, कानुन निर्माण, स्रोत व्यवस्थापनलगायत काम तत्कालै थाल्न सकियो भने विदेशमा रहेका नेपालीले पनि मतदानको अवसर पाउन सक्छन् ।’

आयोगले आफ्नो दोस्रो पञ्चवर्षीय रणनीतिक योजनामा समेत नेपालीको सघन उपस्थिति रहेका विदेशका केही सहर (क्वालालम्पुर, दोहा, दुबई, सिओललगायत) मा मतदाता नामावली संकलनको लक्ष्य राखेको थियो । त्यसका लागि एक लाख अमेरिकी डलर खर्च लाग्ने अनुमान थियो ।

तर, कानुन नबन्दा त्यो सम्भव भएन । मुलुकबाहिर रहेका मतदातालाई मतदानमा सहभागी गराउन नसकेको विषयलाई दुर्बल पक्षका रूपमा राख्दै रणनीतिक योजनाले त्यसका लागि समयमै कानुनी प्रबन्ध गर्ने विषयलाई आगामी कार्ययोजनामा राखेको छ । यसै आर्थिक वर्ष सकिन लागेको उक्त योजनाले लक्ष्यअनुसार काम भने गर्न सकेको छैन । मतदानका लागि विद्युतीय उपकरण प्रयोग गर्ने आयोगको पुरानो लक्ष्यसमेत वर्षौंसम्म पूरा हुन सकेको छैन ।

विदेशमा रहेका नेपालीलाई मतदान अधिकारबारे आयोगले विगतमा सम्भाव्यता अध्ययनसमेत गरेको थियो । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मध्यपूर्वका साउदी अरेबिया, कतार, अरब इमिरेट्स, बहराइन र ओमानमा टोली नै पठाएर अध्ययन गराएको बताए । ‘अध्ययन प्रतिवेदनले ती देशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न सकिने देखाएको थियो,’ उनले भने, ‘तर विभिन्न कारणले कार्यान्वयनमा लग्न सकिएन ।’ सर्वोच्चको निर्णय युगान्तकारी रहेको भन्दै उनले त्यसको कार्यान्वयनका लागि सरकारले आँट गर्नुपर्ने बताए ।

विगतमा समयको चाप र अन्योलबीच निर्वाचन हुँदै आएको तर अहिले राजनीतिक स्थिरताको संकेत देखिएकाले आवश्यक तयारी गर्न सकिने उनले बताए ।

‘एक सय १२ मुलुकमा नेपाली रहेको अनुमान छ, सबैतिर एकैपटक सम्भव नहोला,’ उनले भने, ‘तर केही देशबाट थालनी गरिहाल्नुपर्छ । चार वर्षपछि हुने चुनावका लागि तुरुन्तै विशेष कार्ययोजना बनाएर अगाडि बढ्नु उत्तम हुन्छ ।’ – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार