काठमाडौं – डोल्पामा उप–निर्वाचन गराई सो निर्वाचनबाट जसरी पनि ने.क.पा.का नेता वामदेव गौतमलाई जिताउने चलखेलको तयारी थालिएको छ । संघीय सरकारका पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई सांसद्बाट राजीनामा दिन लगाएर उनको स्थानमा गौतमलाई ल्याउने सोचका साथ उक्त तयारी अघि बढाइएको हो ।
यसैक्रममा राज्यमन्त्री बुढा डोल्पा पुगेका छन् । डोल्पामा विकासका कामहरु गर्न नसकेको र विकासलाई गतिशील बनाउन आफूले राजीनामा दिएर नेता गौतमलाई जिताउने उनले बताए जिल्लामा बताए।
तत्कालीन नेकपा (माओवादी केन्द्र) र ने.क.पा.(एमाले) पार्टीको एकीकरण पछि बनाइएको नेकपालाई थप मजबुद बनाउन नेता गौतमलाई जिताउनुपर्ने राष्ट्रिय आायक्ता रहेको राज्यमन्त्री बुढाले बताएका छन् । उनले जिल्लाका आठवटै स्थानीय तहका जनतासँग राय सल्लाह र प्रतिक्रिया बुझेरमात्रै राजीनामा दिने सोच बनाएका छन् ।
राज्यमन्त्री बुढाले गौतमका लागि राजीनामा गर्नुमा बुढाको व्यक्तिगत स्वार्थ पनि रहेको स्रोतको दाबी छ । बुढा वामदेव गौतमका पुत्रका व्यापारिक साझेदार पनि हुन् ।
वामदेवका लागि सांसद पद छाडेपछि बुढालाई राज्यमन्त्रीबाट बढुवा गरी मन्त्री बनाउनुपर्ने सर्त बुढाले राखेको कुरालाई ने.क.पा.का नेताहरुले स्वीकारेको पनि स्रोतले बतायो ।
उता, बुढाको राजीनामा तथा गौतम उठ्ने विषयलाई लिएर डोल्पामा मिश्रित प्रतिक्रिया देखिएको छ । एकथरीले भने गौतमलाई जिताएको खण्डमा विकास निर्माणको कामले तीव्रता पाउने आशा गरेका छन् भने आफ्नो गृहजिल्ला बर्दियाबाट लामो समय प्रतिनिधित्व गरे पनि खासै विकास निर्माण नगरेकै कारण पछिल्लो पटक चुनाव जित्न नसकेका गौतमलाई जिताउँदैमा केही नहुने भएकाले स्थानीय उम्मेदवार नै उचित हुने भन्नेहरु छन् ।
गौतम चुनाव लडेको खण्डमा पहिलेको जस्तो जनतामा उत्साह नहुने तथा एउटा जनजाति सांसदलाई राजीनामा गरी बाहुन समुदायका गौतमलाई ल्याउँदा जिल्लामा जनजातिको राजनीति गर्दै आएकाहरुले झनै जातीय कुरालाई अघि बढाउन मलजल पाउने पनि बताइएको छ ।
सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उप–चुनाव गराउने र गौतमलाई उम्मेदवार बनाउने विषयमा नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल र केपी शर्मा ओली सहमत भइसकेका छन् ।
नेता गौतमले पनि उपचुनाव लड्ने इच्छा देखाएका छन् । त्यसैगरी बुढाले पनि राजिनामा दिन तयार भइसकेको बताइन्छ ।
पर्यटन राज्यमन्त्री समेत रहेका सांसद बुढाले ११ हजार ७६१ मत ल्याएर बिजयी भएका थिए । उनी दोस्रो संविधानसभामा समेत राप्रपाबाट एमालेमा प्रवेश गरी चुनाव जितेका थिए ।
यार्शागुम्बाको कारोबार र ठेक्का पट्टामा संलग्न पर्यटनराज्यमन्त्री बुढा गौतम निकट नेताका रुपमा चिनिन्छन् । भित्रि रुपमा निर्वाचनको तयारी थालेका वामदेव दंग रहेको समाचार स्रोतले जनाएको छ ।